Kohalpur Today Header Ads

बाँके–२ कांग्रेसमा ‘हेभिवेट’ ढले : चार प्रदेश सांसदसहित प्रभावशाली नेता पराजित, नरेन्द्र चौधरी सभापतिमा विजयी




काेहलपुर । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नं. २ मा चार जना प्रदेश सभा सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

लुम्बिनी प्रदेशसभा सदस्यहरू माया पुन मगर, सुशिला नेपाली वादी, मिना सिद्दिकी र निवर्तमान प्रदेश सभा सदस्य याकुव अन्सारी पराजित भएका छन्। उनीहरू सबै समानुपातिक प्रदेशसभा सांसदहरू हुन् ।

जिल्लाका प्रभावशाली नेता निरन्जन सिंह सिजापती, सुदिप नर्सिङ राणा, ललित रौनियार पनि पराजित भए । दलित तर्फ सुशिला वादीले २३६ मत प्राप्त गर्दा निर्वाचित हुने मैकुलाल बालमिकीले ३३० मत प्राप्त गरेका थिए।

LIfe Ok

महिला कलष्टरबाट निर्वाचन लडेकी माया पुन मगरले २१५ मत मात्रै प्राप्त गर्न सकिन्। सोही कलष्टरबाट चुनाव लडेकी मिना कुमारी बोहरा सिद्दिकीले २२१ मत प्राप्त गरिन्। यो कलष्टरबाट उमा थापा मगर ४३६, कल्पना रेग्मी ३०९, रेनुसिंह ठकुरी ४११ र नारायणी रुपाखेती ३४९ मत प्राप्त गरी निर्वाचित भए। सबैभन्दा बढी मत प्राप्त गर्ने उमा थापा मगर नेपालगंज उपमहानगरको पूर्व उपमेयर हुन्। निर्वाचन मार्फत नेपालगंजका मेयर प्रशान्त विष्ट झिनो मतान्तरले महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

त्यस्तै बाँके–२ को सभापतिमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी विजयी भएका छन्। उनले वीरेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन्। गएराति भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहान मात्रै सार्वजनिक भएको हो ।

बाँके–२ को सभापतिमा निर्वाचित चौधरीले ३४५ मत प्राप्त गरी विजयी भएका थिए। सचिवमा ४०४ मत प्राप्त गरि रमेशप्रशाद तिमिल्सिना, सहसचिवमा ३८२ मत प्राप्त गरि राजकुमार बाल्मिकी निर्वाचित भए। त्यस्तै निशा रेग्मी गौतम भने सहसचिवमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार