कोहलपुरका ६२ शिक्षकलाई ल्यापटप

कोहलपुर ।

कोहलपुर नगरपालिकामा ५० प्रतिशत अनुदानमा ६२ जना शिक्षकले प्रविधीमैत्री अध्यापनका लागि ल्यापटप पाएका छन् । चालु आर्थिक वर्षमा रहेको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘प्रविधियुक्त शिक्षक संग मेयर’ भन्ने कार्यक्रम निर्माण भएको थियो । मंगलबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामुदायिक विद्यालयका ६२ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।

ल्यापटप हस्तान्तरण गर्दै प्रमुख आचार्यले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए । अघिल्लो नगरप्रमुख लुट बहादुर रावतले निर्माण गरिएको कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गरिएकोे बताए । उनले ५० प्रतिशत लागत सहभागितामा नगरपालिकाका ६२ जना शिक्षकहरुलाई ल्याप्टप वितरण गरिएको बताए । कोहलपुरमा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु विच भिन्न सोच रहेको पाएको बताए । त्यसलाई एकिकृत रुपमा अगाडि ल्याउनका लागि के कस्तो काम गर्नुपर्ने हो ? त्यसको बारेमा सुझाव दिन अनुरोध गरे ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले हस्तान्तरण गरिएको ल्यापटपको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनका अनुसार यहाँहरुको ५० प्रतिशत लगानी भएकोले आफ्नो ठानी प्रयोग गर्नुहुन अनुरोध गरेका थिए । अहिले ल्यापटप लिने आउँदा दिनहरुमा अरु कसैले सदुपयोग गर्नुभन्दा पनि स्वयम् आफैले बालबालिकालाई अध्ययनमा सघाउ पुग्ने गरी सञ्चालन गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत ढकालले जोड दिए ।

यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रवि मिजारले शैक्षिक हव बनाउने उद्देश्यले विभिन्न कार्यक्रम तयार गरिएको बताए । ‘जसमा ‘प्रविधियुक्त शिक्षकसँग मेयर’ कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याइएको छ, उनले भने, ‘यसलाई प्रत्येक कक्षा कोठामा प्रोजेक्टरमार्फत अध्यापन गराउने, प्रविधिमा बालबालिकालाई नजिकबाट जोड्न मद्दत पुग्ने छ ।’ त्यसकारण शिक्षकमार्फत नै बालबालिकालाई प्रविधिमा जोडनका लागि ल्यापटप वितरण गरिएको उनको भनाई थियो ।

यस्तै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापाँगाईले यो कार्यक्रमलाई निरन्तरता दिनका लागि अनुरोध गरेका थिए । अहिले विश्वमा नै प्रविधिमा जोडिएकोले कोहलपुर नगरपालिकाका बालबालिका पनि नजिकबाट प्रविधिमा जोडिएर अध्यापन गराउँदा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, राहत शिक्षक संघका जिल्ला अध्यक्ष भिम खरेल, जन ज्ञान ज्योति माध्यमिक विद्यालयकी प्रध्यानाध्यापक सुमित्रा न्यौपाने लगायतले आफ्नो मन्तव्य राखेका थिए भने नगर शिक्षा शाखाका विद्यालय निरिक्षक शिला गौतम, प्रा.स. बल बहादुर नेपाली लगायत विभिन्न शिक्षक संगठनका घटकहरुको उपस्थित रहेको थियो ।