शहिद परिवारका अभिभावकबाट आर्शिवाद लिँदै कोहलपुरमा काँग्रेसको घरदैलो सुरु




काेहलपुर  ।

नेपाली काँग्रेस कोहलपुरले आजदेखि चुनावी घरदैलो सुरु गरेको छ । कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित शहिद परिवारको घरबाट घरदैलो अभियान सुरु गरिएको हो ।

शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्र बहादुर शाहलगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिएका थिए ।

सशस्त्र द्धन्द्धकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिएका थिए । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गरेका थिए ।

स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजनासहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाए ।

घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी भएका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिकरुपमा घरदैलो अभियान सुरु भएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार