नेपालमा नयाँ सरकार गठनपछि भारत र चीनले कस्तो प्रतिक्रिया दिए ?




काठमाडौँ ।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य नै बदलिदिएको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ भने फागुन २१ गतेका लागि चुनावको मिति घोषणा भइसकेको छ ।

दक्षिण एसियाकै श्रीलंका र बंगलादेशमा यस्तै प्रकृतिका ‘युथ मुभमेन्ट’ भएका थिए । नेपालमा भएको जेनजी आन्दोलनपछिको परिवर्तनलाई दुई छिमेकी देश भारत र चीनले कसरी लिएका छन् भन्ने चासो धेरैमा छ ।

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै भारतले सबैभन्दा पहिले स्वागत गरेको छ । भारतको विदेश मन्त्रालयले भदौ २७ गते मध्यराति विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको थियो । त्यसको भोलिपल्ट अर्थात् शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली, हिन्दी र अंग्रेजी भाषामा ट्वीटरमार्फत प्रधानमन्त्री कार्कीलाई बधाई दिए ।

यति मात्रै होइन, मणिपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा मोदीले नेपालको प्रशंसा गर्दै सुशीला कार्कीलाई बधाई दिए । उनले भने, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु ।’

उनको त्यो भिडियो नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको थियो । यसरी नयाँ सरकारलाई भारतले विशेष चासो लिएको देखिन्छ ।

तर उत्तरी छिमेकी चीनले भने यस विषयमा खास चासो दिएको देखिँदैन । प्रधानमन्त्री कार्कीलाई चीनले ढिलो गरी अर्थात् आइतबार मात्रै बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको बधाई सन्देश नेपालस्थित चिनियाँ राजदूतावासले सार्वजनिक गरेको छ ।

हुन त प्रधानमन्त्री कार्कीको सपथग्रहण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ राष्ट्रपति भवन शीतल निवासमा उपस्थित थिए । प्रधानमन्त्री कार्कीलाई भेटेरै उनले बधाई दिएका थिए । तर हालसम्म प्रधानमन्त्री कार्कीलाई चिनियाँ उच्च तहबाट शुभकामना तथा बधाई सन्देश आइपुगेको छैन ।

आन्दोलन चलिरहेकै बेलामा भदौ २५ गते त्यहाँको विदेश मन्त्रालयबाट एक प्रेस नोट सार्वजनिक गर्दै चीनले नेपालमा देखिएको आन्तरिक समस्याले चाँडै समाधान पाओस् र मुलुकमा स्थायित्व फर्कियोस् भन्ने आशा व्यक्त गरेको थियो ।

नेपाल–चीन मामिलाका जानकार विपिन आचार्य चीनले नेपालमा स्थायित्व र शान्ति चाहेको बताउँछन् । तर प्रधानमन्त्री कार्कीलाई दलाई लामाले शुभकामना दिएको विषयलाई चीनले चासोका साथ लिएको हुनसक्ने उनी बताउँछन् ।

नेपाल–चीन मैत्री संघका पूर्वअध्यक्ष समेत रहेका आचार्य भन्छन्, ‘तिब्बतलाई लिएर चीन निकै गम्भीर छ । नेपालसँग यो विषयमा पटक-पटक कुरा उठाइरहेको पनि हुन्छ । तर पछिल्लो समय दलाई लामाबाट आएको बधाईले चीनलाई निकै गम्भीर बनाएको हुनसक्छ ।‘ यद्यपि नेपालको परिवर्तन र स्थायित्वमा चीनले बधाई पनि दिइसकेको उनी बताउँछन् ।

नेपाल अहिले संक्रमणकालीन अवस्थामा छ । दुवै देशसँग नेपालले समान सम्बन्ध राख्नुपर्नेमा विदेश मामिलाका जानकारहरु जोड दिन्छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार