घरदैलो अभियानमा माओवादी

कोहलपुर ।

कोहलपुर नगरपालिकामा माओवादी केन्द्रले घरदैलो अभियान सुरु गरेको छ । माओवादी केन्द्रले नगर प्रमुखमा नरेन्द्र न्यौपाने र उपप्रमुखमा नारायणी वलीलाई जिताउ अभियानका साथ बिहान देखि साँझ ६ बजेसम्म घरदैलो अभियान सबै वडाहरुमा तिव्र रुपमा चलिरहेका छन् ।

केन्द्रीय तहको राजनीति गरेर कोहलपुर पुगेका न्यौपानेले आफू पछिल्लो ५ वर्षको अवधिमा कोहलपुरको राजनीतिक अवस्था, मुख्य–मुख्य समस्या र कोहलपुरको सम्भावनाका बारेमा समेत अध्ययन गर्ने प्रयाप्त मौका साथै जनताको सेवा गर्ने अवसरका रुपमा आफूले लिएको बताउँछन् । गाँउ घरका स–साना समस्यादेखि कोहलपुरलाई विकास र प्रशासनिक हिसाबले समृद्ध गर्ने काममा उनको उत्तिकै खटाइ छ । कोहलपुरमा विकासका काममा प्रदेश र केन्द्र सरकारसँग लबिङ गर्न होस् या कोभिडको महामारीमा जनताको घर–घरमा पुगे सेवा गर्न होस् उनी निरन्तर लागिपरेका थिए ।

‘मैले कोहलपुर बासीको लागि कुनै पदमा नरहेपनि काम गर्दै आएको छु, त्यो कुरा मैले भन्नुभन्दा पनि यहाँका जनतालाई थाहा छ,’ उम्मेदवारी दर्ता गरेपछि न्यौपानेले सँग भने, ‘तर, काम गर्न इच्छा र जागर भएर मात्रै नहुने रहिछ कुनै तहबाट गर्न सकियो भने झन राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ । त्यसैले मैले उम्मेदवारी दिएको हो, आशा छ यहाँका जनताले साथ दिनुहुने छ ।’ कोहलपुरमा लोक कल्याणकारी स्थानीय सरकार बनाउने योजनामा रहेको उनको भनाइ छ ।

खासगरी सार्वजनिक सेवा, सार्वजनिक सरोकारका क्षेत्र र आधारभुत बस्तु तथा सेवाको उपभोगमा कोही दबिएको अथवा उत्पीडनमा परेको महसुस हुन नदिने उनको दाबी छ । उनले यसअघिदेखि नै कोहलपुरबासीको लागि काम गरेर सबैको मन–मनमा बस्न सफल भएकोले जित निश्चित भएको बताएका छन् । ‘काम गरेर होस् या नयाँ विचार र योजना बनाएर होस् म यहाँका जनताको मनमा बस्न सफल छु, त्यसैले चुनाव त अवश्य जित्ने नै छु,’ न्यौपानेले भने ।