‘द्धन्द्ध पीडितको सम्मानका लागि कोहलपुरमा पूर्ण आचार्यको उम्मेदवारी’ : सह-महामन्त्री राठौंर

कोहलपुर 

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले द्धन्द्ध पीडितको सम्मानका लागि कोहलपुर नगरपालिकामा कांग्रेसका युवा नेता पूर्णप्रसाद आचार्यको उम्मेदवारी रहेको बताएका छन् । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यका आकांक्षी लगायत नेता, कार्यकर्तालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसले कोहलपुर नगरपालिकामा आचार्य जस्तो युवा नेतालाई मेयरको उम्मेदवार बनाउनु आम कोहलपुरबासीका लागि गर्वको कुरा भएको बताए । ‘पूर्ण प्रसाद आचार्य कोहलपुर नगरपालिकाको भविष्यसँग जोडिएको युवा नेता हुन्, यसपटक जसरी पनि मेयरमा निर्वाचित गराएर कोहलपुरबासीले जिम्मेवारी सुम्पिनुपर्छ,’ प्रमुख अतिथी राठौंरले भने ।

नेता आचार्यको परिवार २०५६ सालमा तत्कालिन द्धन्द्धका क्रममा सल्यान जिल्लाबाट विस्थापित भई कोहलपुरमा आएर बसेको थियो । तसर्थ, द्धन्द्ध पीडित र विस्थापित परिवारको सम्मानका लागि आचार्यलाई निर्वाचित गराउनुको विकल्प नभएको राठौंरले प्रष्ट्याए । यस्तै उपमेयरका उम्मेदवार संगिता सुवेदी कोहलपुरको समग्र विकास गर्न सक्ने सक्षम महिला नेतृ भएको उनले बताए ।

‘कोहलपुरको उपमेयरका रुपमा नेपाली कांग्रेसले यस्तो ब्यक्तिलाई अगाडी सारेको छ, संगिता सुवेदी कोहलपुर क्षेत्रका लागि एकदमै परिचित नाम हो,’ राठौंरले भने ‘कोहलपुरको विकास गर्नमा संगितासँग धेरै कुराको जानकारी छ ।’ उक्त कार्यक्रम नेपाली कांग्रेसका कोहलपुर नगर सभापति बिरेन्द्र शाहको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी लगायत पार्टीका विभिन्न तहमा रहेका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।