हिउँ चितुवाको सङ्ख्या झण्डै २६ प्रतिशतले बढ्याे : प्रमुख संरक्षण अधिकृत उपाध्याय

सोलुखुम्बु ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि भएको छ । निकुञ्जमा करिब ३ महिना अघि गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार आर्थिक वर्ष २०७३/०७४ को भन्दा अहिले २६ प्रतिशतले हिउँ चितुवाको सङ्ख्यामा वृद्धि भएको पाइएकाे हाे ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार ०७३/०७४ को सर्वेक्षणमा २२२ वटा हिउँ चितुवा रहेको थियो तर करिब तीन महिना अघिको गरिएको सर्वेक्षणमा तीन सय वटाभन्दा बढी रहेकाे देखिएकाे छ । तर, गणनाको अन्तिम रिपोर्ट आउन भने बाँकी रहेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

साथै निकुञ्जमा झारलको सङ्ख्यामा समेत उल्लेख्य रुपमा वृद्धि भएको अनुमान गरिएको छ । करिब आधा दशक अघि फाट्टफुट्ट रुपमा मात्रै देख्न पाइने झारल अहिले प्रशस्त मात्रामा देखिने गरेको प्रत्यक्षदर्शी दावा शेर्पाले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा बासस्थान बढेसँगै वन्यजन्तुहरु बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । विगतमा स्थानीयवासी वन पैदवारमा बढी सक्रिय हुँदा वन्यजन्तुको बासस्थान कम हुँदै गए पनि पछिल्लो केही वर्षयता स्थानीयवासी आफैँ वनजङ्गल संरक्षणमा जुटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

उहाँका अनुसार केही वर्ष पहिला खुम्बु क्षेत्रमा घर निर्माण गर्दा अत्याधिक मात्रामा रुख विरुवाको फँडानी भएकाे थियो । तर अहिले घर निर्माणमा प्लाइउड तथा फलामका सामग्रीहरु प्रयोग गर्ने क्रम बढेसँगै वन जङ्गल फँडानी हुने क्रम केही घटेकाे निकुञ्जले जनाएको छ ।