लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी कोहलपुरमा सम्पन्न




शिवध्वज शाही, कोहलपुर ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत सांस्कृतिक अध्ययन केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय सांस्कृतिक सङ्गोष्ठी सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न जाति, भाषा, संस्कृति तथा परम्परासम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुधनकुमार पौडेलले बाँके जिल्ला विभिन्न जातजाति, भाषा र संस्कृतिको साझा थलो भएकाले यस्ता कार्यक्रमको विशेष महत्व रहेको बताए। उनले नेपाल संस्कृत विश्वविद्यालयले संस्कृतिसम्बन्धी पठनपाठन मात्र नभई नेपालमा बोलिने भाषा, संस्कृति तथा परम्पराको खोज, अनुसन्धान र संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिए। यसअघि रोल्पा, रुकुम, धनगढी र विराटनगरमा समेत यस्तै कार्यक्रम सम्पन्न भइसकेको उनले बताए।


नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा. माधव अधिकारीले कार्यक्रममा प्रस्तुत गरिएका चारवटा कार्यपत्र अत्यन्त महत्वपूर्ण र ज्ञानवर्द्धक रहेको उल्लेख गरे। लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर वलीले प्रस्तुत सामग्रीहरू अनुसन्धानमूलक र उपयोगी रहेको बताउँदै आगामी दिनमा दुई विश्वविद्यालयबीच सहकार्य गरेर यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रस्ताव राखे।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका सदस्य तथा साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मी, भाषा आयोगका पूर्व सदस्य डा. गोपाल अश्क, पूर्वमन्त्री तथा थारू संस्कृति अध्येता डा. गोपाल दहित, कोहलपुर नगरपालिकाका पूर्व मेयर, विभिन्न वडाका जनप्रतिनिधि, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष एकराज शर्मा लगायत साहित्यकार, शिक्षाविद्, संस्कृतिकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


सङ्गोष्ठीमा चारवटा विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। डा. राजकुमार थारुले “थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरण” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसको टिप्पणी डा. गोपाल दहितले गरेका थिए। त्यसैगरी जगतराम यादवले “अवधी लोकसाहित्य : लोकगाथा चनैनी” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए, जसको टिप्पणी डा. गोविन्द आचार्यले गरेका थिए।
त्यसैगरी उदय आलेले “कुसुन्डाको परम्परागत संस्कृति” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसको टिप्पणी डा. पुष्करनाथ रिजालले गरेका थिए। आरिफ खानले “मोहरम” विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए र त्यसको टिप्पणी डा. हरिप्रसाद तिमिल्सिनाले गरेका थिए।


कार्यक्रमका अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. टीकाराम उदासीले सांस्कृतिक विविधताको संरक्षण, अध्ययन र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्रीले गरेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार