मध्यपश्चिम विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्मेलन-२०२६ भव्य रूपमा समुद्घाटन




शेरबहादुर केसी, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत ।
सुर्खेत, बैशाख ११ गते । मध्यपश्चिम विश्वविद्यालयमा बहुविषयक अन्तरराष्ट्रिय सम्मेलन शुक्रबार एक औपचारिक समारोहका बीच भब्य रुपमा समुद्घाटन गरिएको छ । अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणको युगमा दीगो भविष्य निर्माण भन्ने मूल नाराका साथ वीरेन्द्रनगर, सुर्खेतमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।


उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, मुलुकभरका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्त, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. कृष्णप्रसाद अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. यज्ञराज भट्ट, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव सहित विभिन्न मन्त्रालयका सचिव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था एवम् साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, पदाधिकारी, अनुसन्धानकर्ता तथा स्वदेश–विदेशका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कँडेलले विश्वविद्यालय स्थापनाको कठिन संघर्ष सम्झँदै यसको विकास र विस्तारमा आफू सदैव प्रतिबद्ध रहेको बताए । उनले वक्ताहरुको धारणामा ऐक्यबद्धता जाहेर गर्दै कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल रूपान्तरणको युगमा दीगो विकास हासिल गर्न बहुविषयगत सहकार्य अपरिहार्य रहेको बताए । मुख्यमन्त्री कँडेलले प्रविधि, शिक्षा, अर्थतन्त्र र समाजबीच समन्वय गरेर नवीन समाधान खोज्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा सम्मेलनको महत्वपूर्ण साझेदार भारतको उडिसा स्थित ग्लोबल विरला विश्वविद्यालयका प्रतिनिधि डीन प्रा.डा. अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताको रुपमा निम्त्याइनुभएकी प्रा.डा. सुसान्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले सहितका वक्ताहरुले यस्तो अन्तरराष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, अनुसन्धानको स्तर वृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।
सम्मेलनले नेपालमा डिजिटल रूपान्तरणका अवसर र चुनौतीबारे गहिरो बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
अप्रिल २४ देखि २६ सम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सात क्षेत्रमा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रिया हुने आयोजकले जनाएको छ ।


रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका थिए ।
उद्घाटन सत्र लगत्तै आयोजक विश्वविद्यालयका उपकुलपति सहित देशभरका उपकुलपतिहरु सम्मिलित राउण्डटेबल छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती सम्भावना र अवसरबारे उच्च स्तरीय प्राज्ञिक मन्थन भएको थियो । जसको सहजीकरण मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. पन्ना थापाले गरेका थिए ।
सम्मेलनको प्राविधिक एवम् समानान्तर सत्रमा विभिन्न सातवटा ट्र्याकमा विषयगत प्रस्तुतिहरु सञ्चालन गरिएको अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक यदुप्रसाद ज्ञवालीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार