समाचार प्रभाव : लक्ष्मी माविमा ३ दिनमै विव्यस गठन, अन्यमा पक्रिया सुरु

डिल्ली शाही । कोहलपुर

बाँकेको कोहलपुर नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बर्दहवामा गत शैक्षिक सत्रमा गणित र विज्ञानको विज्ञापन खुल्यो । विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शिक्षक नियुक्ति हुन सकेन । दरबन्दी नै बन्द भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्न झन्डै एक दर्जन पटक अभिभावकको बैंठक डाकियो । राजनीतिक खिचातानीले व्यवस्थापन समिति गठन हुन सकेको थिएन ।

कोहलपुर टुडे डटकमले असार ९ गते विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि विभिन्न राजनितिक दलहरुले तीन दिन भित्रै लक्ष्मी माविमा विव्यस गठन भएको हो ।

‘राजनीतिक दलहरुको सहमतिबाट नै विव्यस गठन भएको छ’ विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्टले भने, ‘अब विव्यसबाट हुने कामहरु निरन्तर हुनेछन् ।’  विद्यालयमा विषयगत शिक्षक नहुँदा विज्ञान र गणित जस्ता विषयको पनि काम चलाउ पढाइ भइरहेको थियो अब शिक्षक नियूक्ति गरी पढनपाठन हुने प्रअ विष्टले बताए ।

दलीय भागवण्डाले विद्यालय व्यवस्थापन समिति गठन नहुँदा शैक्षिक समस्या भोग्ने कोहलपुरको लक्ष्मी मावि एक्लो विद्यालय होइन । सरस्वती मावि पिपरीमा पनि शिक्षक नियुक्ति, भौतिक पूर्वाधारलगायत अन्य कामहरु सुचारु हुन सकेका छैनन् ।

सरस्वती माविका प्रअ विशाखर जैसीका अनुुसार ६ जनाको समिति गठन भएको तर अध्यक्ष पदमा भने अझै टुङ्गिन नसकेको बताए । ‘अध्यक्षको लागि अबको केही दिनमा नै टुङ्गिने छ, उनले भने, ‘अध्यक्ष टुङ्गिन वित्तिकै नगर अनुदान पाएका गणित र विज्ञान विषयको शिक्षक आवश्यकता निकाल्छौं ।’

विव्यस गठन नुहँदा विद्यालयमा विषयगत शिक्षक छैैनन् । अझै बालबालिकाले पढ्न पाएका छैनन तर काम चलाउ तरिकाले अध्ययन/अध्यापन गराइराखेको प्रअ जैसीले बताए ।

जनता मावि मैटहवाका प्रअ चन्द्रबहादुर खत्री पनि व्यवस्थापन समिति गठन गर्ने पक्रिया सुरु गरेको बताएका छन् । ‘आशा छ अब केही दिनमा नै समिति तयार हुन्छ, अन्यथा बालबालिकाको भविष्य अन्धकार हुनेछ ।’ उनी भन्छन्, ‘विव्यस गठन छिटो गरौ भन्दा भन्दै अहिले ७ महिना वित्तिसक्यो । गठन अझै हुन सकेको छैन ।’ व्यवस्थापन समिति नहुँदाको मार निमावि र माविका विद्यार्थीले सामाजिक र विज्ञान विषयगत शिक्षकबाट पढ्न पाएका छैनन ।

नगरमा सरस्वती र जनता मावि मात्र होइन, कोहलपुरमा कम्तीमा ६ महिनादेखि बढीमा एक वर्षसम्म पनि विव्यस गठन नभएका विद्यालयको संख्या ४ छ ।

हिमालय मदरसा प्रावि बेलनपुर र ज्ञानज्योति मावि चप्परगौडी पनि व्यवस्थापन समिति विहीन छन् । यी विद्यालयमा शिक्षक नियुक्ति, भौतिक पूर्वाधार विकास, बालबालिकाको दिवा खाजा कार्यक्रम, शैक्षिक कार्यक्रम लागू गर्ने लगायत थुप्रै कामहरु हुन सकेको छैनन् ।

कोहलपुरका सामुदायिक विद्यालयमा फोहोरी राजनीतिका कारण विव्यस गठन नहुँदा अझै २३ सय भन्दा बढी बालबालिकाको पठनपाठन अबरुद्ध भएको छ । गत शैक्षिक सत्रबाट माध्यमिक तहमै विद्यार्थीले विषयगत शिक्षक पाएका छैनन् । अधिकांश विद्यालयमा गणित, विज्ञान र सामाजिक विषयका शिक्षकको अभाव छ ।

विव्यस प्रत्यक्ष बालबालिकासँग जोडिएको हुन्छ । भौतिक पूर्वाधार विकास गर्न, कुनै कमीकमजोरी देखिएमा निगरानी गर्न, शिक्षक र कर्मचारीको दरबन्दी स्वीकृत गर्ने, तह अनुसार विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान गर्ने, शैक्षिक कार्यक्रम लागू गर्ने, विशेषज्ञ नियुक्ति गर्ने जस्ता काम, कर्तव्य र अधिकार विव्यसमा हुन्छन् ।

सामुदायिक विद्यालयका शैक्षिक सुधार गर्न दल र नेता गम्भीर छैनन् । कोहलपुरलाई शैक्षिक हब बनाउने चर्को नारा लगाउने दल र तिनका नेताहरुले विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमा नै खेलवाड गरिरहेको भन्दै अभिभावकहरुले दुःख व्यक्त गरिरहेका छन् ।

एता राजनितिक दलले दलिय भागवण्डाले विव्यस गठन हुन नसकेको झुट भएको बताएका छन् । नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा र नेकपा माओवादी केन्द्रले सहमतिका आधारमा विव्यस गठनको अन्तिम चरणमा रहेको बताउँछन् ।

नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाहले भने, लक्ष्मी विव्यस गठन भइसकेको छ, अब बाँकी जनता मावि बनकटुवामा मात्र छ अन्यत्र सहमतिका आधारमा अन्तिम चरणमा पुगेको शाहले बताउँछन् ।

‘बालबालिकाको पढन नपाएको विषय पार्टी गम्भिर छ,’ नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्माले भने, ‘काेहलपुर टुडेले समाचार पढेपछि तत्काल लक्ष्मी माविमा गठन भयो अन्यमा पनि विव्यस गठन अन्तिम चरणमा छ । अबको केही दिनमा नै सबै विद्यालयमा विव्यस गठन हुने विश्वास व्यक्त गरे । समाजमा भएका समस्याहरूलाइ उजागरण गर्ने मिडियाले खेल्ने भूमिका खेलेकाे भन्दै उनले खुसी व्यक्त गरे ।

‘लक्ष्मी बाहेक अझै ४ विद्यालयमा विव्यस गठन हुन सकेको छैन । जसकारणले अझै २३ सय बढि बालबालिकाले पढनबाट बञ्चित छन् नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले बताउँछन् ।

याे पनि पढ्नुहाेस् ।

विव्यस अध्यक्षमा दलीय भागवण्डाले कोहलपुरका ३५ सय बालबालिकाको भविष्य अन्धकारमा