बाँके–३ मा जि.एम. को शक्ति प्रदर्शन : बैजनाथ तारामय, जित सुनिश्चित दाबी




बाँके । नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक कुमार गौरी मगर (दिपक जि.एम.) लाई जिताउन बैजनाथ क्षेत्र यतिबेला तारामय बनेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम प्रचार दिन फागुन १८ गते उम्मेदवार जि.एम. सहित नेता–कार्यकर्ता र स्थानीय जनताको उल्लेख्य सहभागितामा बैजनाथमा बृहत् शक्ति प्रदर्शन गरिएको हो।

बैजनाथ स्तरीय शक्ति प्रदर्शन र्याली बैजनाथ–५ बाट सुरु भई वडा नं. ६ को एच गाउँ, हस्नापुर, चाँदनी, सम्झना टोल, लालपुर, २८ घर, गडरही, रामपुर, छमनिया, नौवस्ता, डिगिया, चिसापानी, गाभर, बनियाभार, बैरहवा, बनकटुवा हुँदै जि गाउँ स्याउली बजार पुगेर कोणसभामा परिणत भएको थियो। गाउँ–गाउँ र टोल–टोलमा पुगेको टोलीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी माहोललाई उत्कर्षमा पुर्‍याएको छ।

घरदैलोका क्रममा उम्मेदवार जि.एम. ले आफ्नो निर्वाचन क्षेत्रका जनताको आधारभूत समस्या समाधान, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै समृद्ध बैजनाथ निर्माणका लागि आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। “लामो आश्वासन होइन, प्रत्यक्ष काम गरेर देखाउने प्रतिबद्धता” नै आफ्नो मुख्य एजेण्डा रहेको उहाँको भनाइ थियो।

र्यालीमा सहभागी जनसागरले बैजनाथमा परिवर्तन र विकासका लागि जि.एम. नै विकल्प भएको नारासहित उत्साहजनक समर्थन जनाएको देखिएको थियो।

प्रचारप्रसार तथा आईटी संयोजक सुशील लामिछानेका अनुसार बैजनाथमा देखिएको जनलहरले जि.एम. को जित सुनिश्चित भइसकेको छ। “आम बैजनाथबासी जनता ढुक्क भएर चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न तयार छन्,” उनले दाबी गरे।

निर्वाचन नजिकिँदै जाँदा बाँके–३ मा चुनावी सरगर्मी चरममा पुगेको छ। बैजनाथमा भएको बृहत् शक्ति प्रदर्शनले यस क्षेत्रको राजनीतिक समीकरणमा स्पष्ट संकेत दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार