आधुनिक शवदाह गृह कोहलपुर नगरपालिकालाई हस्तान्तरण (उत्कृष्ट ४० तस्विर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–११ मा निर्माण सम्पन्न भएको आधुनिक शवदाह गृह कोहलपुर नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गर्दै उद्घाटन गरिएको छ ।

कोहलपुर शवदाह गृह अर्थ निर्माण उपभोक्ता समितिले निर्माण कार्य सम्पन्न गरी सोमवार नगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पश्चिम नेपालकै पहिलो आधुनिक शवदाह गृह निर्माणमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

उनले शवदाह गृह निर्माणले कोहलपुरको समग्र विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार थप एक मेशिन जडान गर्ने प्रतिबद्धतासमेत जनाए ।

उनका अनुसार यसअघि शव दाह गर्न राप्ती नदी जाने बाध्यता अब समाप्त हुनेछ र यसले समय तथा लागत दुवै बचत हुनेछ । त्यसैगरी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले कोहलपुर नगरपालिकाले स्थानीय जनताको आवश्यकता अनुरूप शवदाह गृह निर्माण गरी महत्वपूर्ण सेवा उपलब्ध गराएको बताए ।

उनले आधुनिक शवदाह गृहले कोहलपुरका समग्र विकासमा थप टेवा पु¥याएको उल्लेख गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले जनताको दीर्घकालीन मागअनुसार शवदाह गृह निर्माण गरिएको बताइन् ।

उनले यसबाट स्थानीय बासिन्दाको समय र पैसा दुवै बचत हुने उल्लेख गरिन् । नेकपा एमाले कोहलपुर नगरकमिटीका उपमहासचिव दिपेन्द्र श्रेष्ठले जनताको मागअनुसार निर्माण सम्पन्न भए पनि शवदाह गृहको दीर्घकालीन र प्रभावकारी व्यवस्थापनका लागि स्थानीय सरकारले विशेष नीति अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगरकमिटीका अध्यक्ष अविरल खड्काले बाँकी रहेका भौतिक संरचना छिटो निर्माण गरी नमूना शवदाह गृहको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए । कोहलपुर शवदाह गृह निर्माण उपभोक्ता समितिका संयोजक चक्र अधिकारीले विभिन्न चुनौतीका बीच निर्माण कार्य पूरा गरिएको बताए ।

उनले शवदाह गृहको नियमित सञ्चालन तथा व्यवस्थापन स्थानीय सरकारले जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा चन्दाता तेजबहादुर केसी, नगर विकासका कानूनी सल्लाहाकार रुद्रमणी न्यौपाने लगायतले पनि बोलेका थिए ।

शवदाह गृह निर्माण सहयोगार्थ एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमइ बैंकले २० लाख, नेपालगन्ज मेडिकल कलेज कोहलपुरले ५ लाख ५१ हजार, कोहलपुरका विभिन्न सामाजिक संघसंस्था, व्यक्ति लगायतले गरी करिव १ करोड १० लाख बढी सहयोग प्राप्त भएको सचिव कृष्ण आचार्यले बताए । सहयोगीदता सबैको शिलालेखमा नाम उल्लेख गरिएको छ । र, उक्त शिलालेखको समेत नगर प्रमुख आचार्यले अनावरण गरे ।

त्यसैगरी केएल दुगड ग्रुपले ७ लाख बढीको लगानीमा प्रतिक्षालय निर्माण गरिदिएको छ । शवदाह गृह निर्माणमा सहयोग गर्ने बैंक, संघ–संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, बाँकेका एसपी अंगुर जिसी, सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल, एभरेष्ट बैंकका लुम्विनी प्रदेश प्रमुख निराजन कार्की, ग्लोबल आइएमइ बैंकका कलष्टर हेड इश्वरी प्रसाद जोशी लगायतको समेत उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार