नेपालगन्ज ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ टिकुलीपुरमा हरेक वर्ष लाग्दै आएको श्री सिद्ध साईकुमारी डिग्रे मेला आजबाट सुरु भएकोछ । तीन दिनसम्म लाग्ने उक्त मेलाको आज राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले एक समारोहकाबीच उद्घाटन गरे ।
आगामी मंसिर १ गते शनिबारसम्म लाग्ने उक्त मेला भर्न राप्तीसोनारीसंगै कोहलपुर, बैजनाथ, नेपालगन्ज, खजुरा र बर्दिया र दाङ लगायतका छिमेकी जिल्लाबाट सर्वसाधरण आउने गर्दछन् ।
विशेषगरी रात्रीकालिन सभ्य र भब्य हुने उक्त मेला दिनमा समेत सर्वसाधरणको भीड लाग्ने गर्दछ । ‘यसक्षेत्रमा दाङ, सल्यान र रुकमेलीहरुको बाहुल्यता रहेकोछ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर–५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने मेलालाई नै यहाँ वर्षौं पहिलेदेखि लगाउन थालिएको हो ।’ स्थानीय सुशीला केसीले बताइन् ।
‘डिग्रे शाइकुमारीको मन्दिरमा पूजा पाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहिआएको हुदाँ सो क्षेत्रबाट बसाईसरी आएका सर्वसाधरणले यो मेला लगाउन थालेका हुन्’ उनले भनिन् ।
मेलामा विषेशगरी स्थानीय कला संस्कृतिलाई संरक्षण तथा प्रवर्धन गरिनेखालका झाँकी, स्थानीय क्लब, भैली समुह, आमा समुहद्वारा विभिन्न प्रस्तुति प्रदर्शन हुने अर्का स्थानीय भीम केसीले जानकारी दिए ।
उनका अनुसार मेलामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता लगायतका मनारञ्जन हुने गर्दछ । विषेशगरी स्थानीय कला तथा संस्कृतिलाई बचाई राख्नका लागि समाजबाट लोप हुँदै जान लागेका मयुर नाच, सिँगारु नाच लगायतका प्रस्तुतिहरु प्रदर्शन गरिने गरिएको उनले बताए ।
राप्ती नदिमा लाग्ने स्नान मेलाका लागि नेपालगन्ज, कोहलपुर, खजुरा, राप्तीनदी आसपास लगायत दाङ्ग, बर्दिया तथा भारतको रुपैडिहा, नानपारा तथा बहराईचबाट समेत श्रद्धालुहरु आउने गर्छन् । कार्तिक पूर्णीमाका अवसरमा जिल्लाका विभिन्न जलासयमा श्रद्धालुहरुको भीड समेत लाग्नेगर्छ ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस दिन सूर्योदयसगैं नदीमा स्नान गरि पुजाअर्चना गरेमा पाप मेटिने मान्यता रहेकोछ । तील, जौं, कुश, चामल र पुष्प लिएर गंगाको पुजाअर्धना गरि गंगा स्नान गर्दा वर्षभरीको पाप मेटिने विश्वासका साथ स्नान गरिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्