कोहलपुर, बाँके । भाद्र १, काठमाडौ विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत सञ्चालित पुस्तकालयसम्बन्धी परियोजनाका प्रमुख एवं संकायका उपप्रमुख डा. शेषकान्त पंगेनीको नेतृत्वमा आएको टोलीले बिहीबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको अवलोकन गरेको छ।
अवलोकन टोलीमा केशर पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेय र पुस्तकालय परियोजना संयोजक प्रतिभा राई सहभागी थिए।
टोलीलाई पुस्तकालयका अध्यक्ष एकराज शर्माले आफ्नो कार्यकक्षमा स्वागत गर्दै पुस्तकालयको स्थापना, उद्देश्य, वर्तमान अवस्था, सेवा तथा विभिन्न गतिविधिबारे जानकारी गराएका थिए। अध्यक्ष शर्माले स्थानीय समुदायमा पुस्तकालयले पुर्याउँदै आएको शैक्षिक तथा सूचनामूलक योगदानबारे समेत टोलीलाई अवगत गराएका थिए।
अवलोकनका क्रममा टोलीले पुस्तकालयका विभिन्न कक्ष तथा सेवा क्षेत्रको निरीक्षण गर्दै पुस्तकालयको अवस्था, सेवा प्रवाह र आगामी विकासका सम्भावनाबारे जानकारी लिएको थियो। साथै परियोजनामार्फत पुस्तकालयको स्तरउन्नति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरण गर्ने विषयमा पुस्तकालयका पदाधिकारीहरूसँग छलफलसमेत गरिएको थियो।
छलफलमा स्थानीय समुदायमा पुस्तकालयको भूमिका थप प्रभावकारी बनाउने, पाठक सेवा विस्तार गर्ने, शैक्षिक स्रोतको विकास गर्ने तथा आधुनिक प्रविधिमैत्री पुस्तकालय सेवासँग जोड्ने विषयमा विचार–विमर्श भएको थियो। कार्यक्रममा कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीको समेत उपस्थिति रहेको थियो।
सो अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको प्रकाशन ‘ज्ञानोदय’ अंक १ र २ अवलोकन टोलीका सदस्यहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो। काठमाडौं विश्वविद्यालयको पुस्तकालय परियोजना टोलीको अवलोकन तथा छलफलले ज्ञानोदय सामुदायिक पुस्तकालयको आगामी विकास, सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि सहकार्यको थप सम्भावना निर्माण भएको पुस्तकालयले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।






















प्रतिक्रिया दिनुहोस्