Kohalpur Today Header Ads

एकराज शर्माको अर्को पुस्तक बजारमा, शिक्षाशास्त्रदेखि अनुसन्धान र पत्रकारितासम्म निरन्तर सक्रिय




प्रदिप कुमाई कोहलपुर भाद्र,२३ बांके
मध्यपश्चिम विश्वविद्यालयको बी.एड. दोस्रो सेमेस्टरका विद्यार्थीलाई लक्षित ‘शिक्षामा सिकाइका सिद्धान्तहरू’ पुस्तक प्रकाशित भएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक, लेखक तथा अनुसन्धानकर्ता एकराज शर्माको नयाँ पुस्तक ‘शिक्षामा सिकाइका सिद्धान्तहरू (Learning Theories in Education)’ बजारमा आएको छ। बी.एड. दोस्रो सेमेस्टरको अनिवार्य विषयलाई लक्षित गरी तयार पारिएको उक्त पुस्तक शिक्षाशास्त्र अध्ययन गर्ने विद्यार्थीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।


शर्माले विभिन्न विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका तीन दर्जनभन्दा बढी पुस्तक लेखन गरिसकेको बताइएको छ। शिक्षाशास्त्र, शिक्षा, अनुसन्धान तथा विभिन्न शैक्षिक विषयवस्तुमा निरन्तर लेखन गर्दै आएका शर्माले यसपटक मध्यपश्चिम विश्वविद्यालयको स्नातक तहअन्तर्गत बी.एड. दोस्रो सेमेस्टरको अनिवार्य विषयका रूपमा रहेको ‘शिक्षामा सिकाइका सिद्धान्तहरू’ पुस्तक प्रकाशन गरेका हुन्।


शैक्षिक लेखनमा सक्रिय शर्माले विभिन्न स्थानीय तहका स्थानीय पाठ्यक्रम निर्माण तथा स्थानीय पाठ्यपुस्तक लेखनमा समेत योगदान पुर्‍याएका छन्। शिक्षा क्षेत्रसँगै अनुसन्धानका क्षेत्रमा समेत सक्रिय रहेका उनी लेखन, अध्ययन र अनुसन्धानलाई आफ्नो पेशागत यात्राको महत्वपूर्ण आधार बनाउँदै आएका छन्।
शर्मा कोहलपुरमा रहेको प्रतिष्ठित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्षसमेत हुन्। पुस्तकालय तथा स्रोत केन्द्रमार्फत पठन संस्कृति, शैक्षिक जागरण र सामाजिक क्षेत्रमा समेत उनको सक्रियता रहँदै आएको छ।

LIfe Ok


लेखनसँगै पत्रकारितामा समेत सक्रिय शर्माले करिब आधा दर्जन जर्नल, स्मारिका तथा बुलेटिनका प्रधानसम्पादकका रूपमा काम गरिसकेका छन्। उनी विगत पाँच वर्षदेखि कोहलपुर टुडे डटकमको सम्पादकका रूपमा समेत कार्यरत छन्। शिक्षा, समाज, संस्कृति, धर्म तथा कोहलपुरको समग्र विकासका विषयमा उनले निरन्तर कलम चलाउँदै आएका छन्।
शर्माको प्राध्यापन यात्रा पनि लामो रहेको छ। उनले विगतमा राम जानकी माध्यमिक विद्यालय कोहलपुर, राम जानकी विद्यानिकेतन कोहलपुर (हाल जनज्योति पब्लिक स्कुल), दीपज्योति विद्याश्रम माध्यमिक विद्यालय कोहलपुर–१२, ज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर–१२ हुँदै मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जमा समेत अध्यापन गरेका थिए।


हाल उनी मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा उपप्राध्यापकका रूपमा प्राध्यापनरत छन्। प्राध्यापनसँगै पुस्तक लेखन, अनुसन्धान, पत्रकारिता, सामाजिक सेवा तथा शैक्षिक गतिविधिमा उनको निरन्तर सक्रियता देखिन्छ।
नेपाली साहित्यमा समेत शर्माले कलम चलाउँदै आएको चर्चा हुँदै आएको छ। आगामी दिनमा साहित्यिक कृति प्रकाशन गर्ने तयारीमा रहेको उनीनिकट स्रोतको भनाइ छ।
रुकुमदेखि बाँकेसम्म शैक्षिक तथा लेखकीय गतिविधिमा परिचित शर्माले शिक्षा, अनुसन्धान, पत्रकारिता र सामाजिक सेवामार्फत आफ्नो बहुआयामिक पहिचान निर्माण गरेका छन्। पछिल्लो पुस्तक ‘शिक्षामा सिकाइका सिद्धान्तहरू’ उनको निरन्तर शैक्षिक लेखन यात्राको अर्को महत्वपूर्ण कडीका रूपमा आएको छ। पुस्तक दाजुभाइ प्रकाशक तथा वितरक प्रा.लि., उग्रतारा, जनागाल, काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार