कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ६ मा रहेको दिव्य विद्या सदनमा अध्ययनरत विद्यार्थीहरूले निलसागरमा रहेका बृद्धाबृद्धहरुलाई तिजको दर खुवाएका छन् ।
मंगलबार विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर बचत गर्ने र शिक्षक र शिक्षिकाले समेत एक दिनको तलब डि.भि.एस वेलफेयर फाउन्डेसनका नाममा जम्मा गर्ने गर्छन् सोही रकमले तिजको दर खुवाएका हुन् ।
विद्यार्थीहरुले विगतका वर्षहरुमा समेत निलसारमा रहेका बृद्धाबृद्धहरुलाई विभिन्न दिवस तथा चाडपर्वको अवसरमा सहयोगी भावना जगाउन र समाजमा भएका विसंगतीलाई हटाउने अभियानमा विद्यार्थीहरु लाग्छन् ।
सोही भावना अनूरुप नेपाली चेलीहरुको महान पर्व हरितालिका तिजको अवसरमा निलसागर सेवाआश्रममा रहेका ४५ जना असहाय, अशक्त, तथा जेष्ठ नागरिकहरूलाई तिजको दर खुवाएका छन् ।
दिव्य विद्या सदनका प्रिन्सिपल नारायण पंगेनीले यो अभियानले विद्यार्थीहरुको सहयोग र सामाजिक उत्तरदायित्वको भावना विकास हुने बताए । पंगेनीका अनुसार डि.भि.एस वेलफेयर फाउन्डेसनले असहाय, अपाङ्ग, वृद्ध तथा बालबालिकाहरूलाई सहयोग गर्ने र विभिन्न सामाजिक विसंगतिहरू बिरूद्व सचेतना फैलाउन सडक नाटक गर्ने जस्ता उद्देश्य लिएर काम गरिरहेको छ ।
विद्यार्थीहरूले एक दिनको खाना र फलफूल वितरण गरी बिहानको खाना विद्यार्थीहरूले आफ्नै हातले बृद्व र असहायहरूलाई खुवाएका थिए ।
कार्यक्रममा निलसागरकी संस्थापक अध्यक्ष डा.सरिता खनाल, उपाध्यक्ष डा.अमन निलसागर, कोहलपुर संयोजक अन्जु न्यौपाने लगायत सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
काेहलपुर टुडे । १९ भाद्र २०८१, बुधबार ०७:४४