काठमाडौं ।
घर, अफिस, व्यवसायलगायतको सुरक्षा गर्नका लागि पछिल्लो समय सीसी क्यामरा जडान गर्ने चलन नेपालमा बढ्दो क्रममा छ। अपराधिक गतिविधि ट्रयाक गर्न तथा घरको सुरक्षाका लागि सीसी क्यामरा जडान गर्ने चलन बढ्दो छ।
घर तथा आफ्नो सम्पत्तीको रक्षा गर्न सीसी क्यामराले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। घरलाई सुरक्षित राख्न चाहनु हुन्छ भने सीसी क्यामरा अनिवार्यरुपमा जडान गर्नुपर्ने हुन्छ।
सीसी क्यामरा जडान भएको क्षेत्र तथा घरमा अपराधिक गतिविधि कम हुनुका साथै त्यस्ता गतिविधि गर्ने व्यक्ति पहिचान गर्न सकिन्छ। घरका केही महत्वपूर्ण स्थानमा सीसी क्यामरा जडान गर्न सकियो भने मात्र घरलाई पूर्णरुपमा सुरक्षित बनाउन सकिन्छ।
यस्ता छन् सीसी क्यामरा जडान गर्नुपर्ने घरका स्थान
मुख्य गेट
कुनै पनि घरमा प्रवेश गर्नका सर्वप्रथम मुख्य गेटको प्रयोग गरिन्छ। सुरक्षाका दृष्टिकोणले पनि मुख्य गेट महत्वपूर्ण हुन्छ। घरको सुरक्षाका लागि मुख्य गेटमा सीसी क्यामरा जडान गर्न छुटाउनु हुँदैन। धेरैलाई लाग्न सक्छ चोरहरु घरको छेउछाउबाट पस्छन् भनेर तर अन्तर्राष्ट्रिय एसोसिएशन अफ सर्टिफाइड होम इनस्पेक्टर (एनएसीएचआई)का अनुसार ३४ प्रतिशतले मुख्य गेट प्रयोग गर्छन्। मुख्य गेटमा सीसी क्यामरा जडान गर्दा राख्दा परिवारका सदस्य, बच्चाहरुको हेरचाह गर्ने व्यक्ति, डेलिभरी गर्ने व्यक्तिहरु घर भित्र जाने र बाहिर जाने सबैलाई निगरानी गर्न सकिन्छ।
पछाडि र छेउका ढोका
मुख्य गेट पछि चोर तथा गलत नियतका व्यक्तिहरु घरमा प्रवेश गर्नका लागि पछाडि तथा छेउका ढोका प्रयोग गर्छन्। एनएसीएचआईको रिपोर्ट अनुसार २२ प्रतिशत खराब नियतका व्यक्ति पछाडिको ढोकाबाट प्रवेश गर्छन्। घर भित्र कस्ता व्यक्ति प्रवेश गर्दैछन् भन्ने जानकारी लिनका लागि पनि पछाडि र छेउका ढोकामा क्यामरा राख्नुपर्ने हुन्छ।
ग्यारेज
पछिल्लो समय सवारी साधन चोरीको घटना बढ्दो क्रममा छ। आफ्नो सवारीको सुरक्षा गर्न पनि ग्यारेजमा सीसी क्यामरा राख्नु पर्ने हुन्छ।
आँगन
आँगनमा जडान गरिएको क्यामराले बाहिरबाट घर माथि नजर लगाउने व्यक्तिको गतिविधि नियाल्न सकिन्छ।
साझा कोठा
घर भित्रको गतिविधिको निरीक्षण गर्नका लागि भान्छाकोठा, लिभिङ रुममा पनि सीसी क्यामरा जडान गर्न सकिन्छ। यस्तो गर्न सकिएमा मर्मत सम्भार, सरसफाई, बच्चाको रेखदेख गर्ने व्यक्तिको गतिविधिलाई नियाल्न सकिन्छ।
भर्याङ र कुना
घरको सूरक्षाका लागि भर्याङ र कुनामा जडान हुने सीसी क्यामराको भूमिका पनि महत्वपूर्ण हुन्छ। यदि कोही व्यक्ति जडान गरेको अन्य सीसी क्यामराको पहुँचमा नआई घर भित्र प्रवेश गरेमा भर्याङ तथा कुनाहरुमा रहेको सीसी क्यामराबाट ट्रयाक गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्