कटुवा पेस्तोलसहित बाँकेमा दुई जना पक्राउ

काेहलपुर ।

डाँका चोरी गरेको आरोपमा बाँकेमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार लुटेको र माघ १७ गते बाँकेको खजुरा गाउँपालिका डि गाउँ बस्ने हरिप्रकाश डिसीको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र पल्सर मोटरसाइकल लुटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्द खजुराबाट गएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित दुबै जनालाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।