टिकटकले तीन महिनामा हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

काठमाडौं ।

टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।

रिपोर्टअनुसार कम्पनीले सन् २०२४ को पहिलो तीन महिनामा टिकटकमा अपलोड १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको छ । यो संख्या अपलोड गरिएका भिडियोको लगभग ०.९ प्रतिशत हो ।

कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो विश्वभरबाट हटाएको जनाएको छ । तीमध्ये १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको थियो ।

हटाइएका मध्ये ६० लाख ४२ हजार २८७ भिडियो थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् ।

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका आधारमा तीन महिनामा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्ट हटाएको समेत जनाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टको १.६ प्रतिशत हो ।

उक्त अवधिमा क्रियटरले आफ्ना भिडियोबाट तीन अर्ब ३८ करोड १६ लाख ४६ हजार ७२२ कमेन्ट फिल्टर गर्न वा हटाउन एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलको प्रयोग गरेको कम्पनीले जनाएको छ ।

के भन्छ कम्पनी ?

टिकटकले आफ्नो गाइडलाइन्सविपरीतका कन्टेन्ट पहिचान, रिभ्यु र अड्रेस गर्न प्रतिबद्ध रहेको जनाएको छ । कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्टको प्रकाशनले पूर्ण पारदर्शिताप्रतिको प्रतिबद्धतालाई देखाएको कम्पनीको भनाइ छ ।

यसबाहेक टिकटकले अनलाइन बालयौन दुर्व्यवहार र शोषण (सीएसईए) र बालयौन दुर्व्यवहार सामग्री (सीएसएएम)को आदानप्रदानविरुद्ध लड्न आफ्नो एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि सार्वजनिक गरिरहेको जनाएको छ ।

यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ ।

लस एन्जलस र सिंगापुरमा ग्लोबल मुख्यालय रहेको टिकटकका कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोजस्ता विश्वका विभिन्न सहरमा छन् ।