फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौँ ।

नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य घटाएको साता दिन नपुग्दै मूल्यमा वृद्धि गरेको छ । संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको पोखरेलको भनाई छ । ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यसकारण अण्डाको मूल्य बढेको हो ।’

उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार गोटा उत्पादन हुने अण्डा हाल १२ देखि १३ हजार अण्डा गोटा उत्पादन भइरहेको छ । संघले वैशाख २० गते प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने जनाएको थियो ।

यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठुलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठुलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।