कविता : “नयनका काला अँध्यारा चिर”

घनश्याम रेग्मी

हे माता भुवनेश्वरी जगतकी आवाज हौ लोककी
सेतो वस्त्र सुहाउँदी वदनमा, वीणा करैमा धरी
चढ्छ्यौ हाँस गरेर वाहन तिमी सत्चेतना लौ भर
विद्याकी वरदायिनी नयनका काला अँध्यारा चिर ।१

सारा मानिसमा दयाद्र मनले अर्पेर वाणी तिमी
भाषा माध्यममा रहेर मनको कण्ठस्थ बोली बनी
धर्तीको सब कार्यभार जनका पारेर राम्रो स्थिर
विद्याकी वरदायनी नयनका काला अँध्यारा चिर ।२

भन्छन् मानिस भारती र वरदा आफैं तिमी शारदा
आँखा चेतनका दियौ र जसले मान्छे भए कामका
कालो यो तम नाश जो मनुजको माता झुकाएँ शिर
विद्याकी वरदायनी नयनको कालो अँध्यारो चिर ।३

आँखा बाहिर देखिए पनि सबै छौं अन्धका गर्तमा
दानी छौ वरदायिनी रहन गो नामै यही अर्थमा
के हो सत्य असत्य बुझ्न सबमा साकार वाणी भर
विद्याकी वरदायिनी नयनका काला अँध्यारा चिर ।४

पूजा बालकले गरे यदि भने मिल्ने छ शिक्षा सब
तिम्रा सामु त बालकैसरि भयौं सन्तान हौं आखिर
सोच्ने शक्ति दिनू हवस् धरतिका मान्छेहरूमा भर
विद्याकी वरदायिनी नयनका काला अँध्यारा चिर ।५

हाम्रा यी मुखबाट शान्ति करुणाका शब्द निस्की रहून्
हाम्रा पूर्वज भूमि वायु जलको आराधना मात्र हुन्
हत्याको कुविचार कत्ति मनमा जाग्दै नजागोस् वर
विद्याकी वरदायिनी नयनका काला अँध्यारा चिर ।६

शार्दूलविक्रीडित छन्द