होल्डिङ सेन्टरमा आउन कोहलपुर नगरपालिकाको आव्हान




कोहलपुर । कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले क्रिकेट मैदान आसपास क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना तथा घर–टहरा हटाइएका व्यक्तिहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

नगरपालिकाले बिहीबार सूचना प्रकाशित गर्दै कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको क्रिकेट मैदान आसपास क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना हटाइएपछि प्रभावित व्यक्तिहरूलाई पालिकाद्वारा व्यवस्थापन गरिएको होल्डिङ सेन्टरमा आउन आग्रह गरेको हो।

सूचनामा उल्लेख भएअनुसार प्रभावित व्यक्तिहरूले उक्त सूचनालाई आधार मानी २०८३ साल जेठ २ गतेभित्र नगरपालिकाको सम्पर्कमा आउनुपर्नेछ। तोकिएको समयभित्र सम्पर्कमा नआए त्यसबाट उत्पन्न हुने समस्याप्रति पालिका जवाफदेही नहुने स्पष्ट गरिएको छ।

सूचना निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर थापाद्वारा जारी गरिएको हो। पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत कोहलपुरमा डोजर अभियान सञ्चालन भएपछि प्रभावित परिवारहरूको व्यवस्थापनका लागि नगरपालिकाले होल्डिङ सेन्टरको व्यवस्था गरेको जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार