पाँचौँ पटक पनि कोहलपुरकै दबदबा : राष्ट्रपति रनिङ्ग शिल्डमा इतिहास कायम




कोहलपुर । खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको कोहलपुर नगरपालिकाले फेरि एकपटक जिल्लाभरि आफ्नो वर्चस्व कायम गरेको छ । १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लगातार पाँचौँ पटक उपाधि जित्दै कोहलपुरले खेलकुदमा आफू अब्बल शक्ति भएको प्रमाणित गरेको हो ।

यस वर्षको प्रतियोगितामा कोहलपुर नगरपालिकाले २२ स्वर्ण, ९ रजत र १३ कास्य पदकसहित समग्रमा प्रथम स्थान हासिल गरेको छ । लगातार पाँच वर्षदेखि उपाधि कब्जा गर्दै आएको कोहलपुरले यसपटक पनि प्रतिस्पर्धी पालिकाहरूमाथि स्पष्ट दबाब कायम राख्यो । खेलाडीहरूको प्रदर्शन, प्रशिक्षकको मेहनत र नगरपालिकाको लगानीले फेरि एकपटक परिणाम दिएको देखिएको छ ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष कुमार श्रेष्ठ का अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले १५ स्वर्ण, ११ रजत र १९ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै खजुरा गाउँपालिका ८ स्वर्ण, ४ रजत र ९ कास्य पदकसहित तेस्रो स्थानमा सीमित भयो ।

गत वर्ष सम्पन्न १६ औँ संस्करणमा पनि कोहलपुरले १८ स्वर्ण, १० रजत र १४ कास्य पदकसहित उपाधि जितेको थियो । यसपटक स्वर्ण संख्या अझ बढाउँदै कोहलपुरले आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ । यसले कोहलपुरको खेलकुद संरचना, प्रशिक्षण प्रणाली र खेलाडी उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको संकेत गरेको छ ।

उपाधि जितेपछि पूर्ण प्रसाद आचार्य ले कोहलपुरले आफ्नो अस्तित्व र पहिचान जोगाउन सफल भएको प्रतिक्रिया दिएका छन् । उनले खेलाडी, प्रशिक्षक, कोहलपुर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारी सबैलाई धन्यवाद दिँदै यो सफलता सामूहिक मेहनतको परिणाम भएको बताए ।

“पालिकाले गरेको लगानीको प्रतिफल खेलाडीहरूले मैदानमा देखाएका छन्,” नगर प्रमुख आचार्यले भने, “यसले आगामी दिनमा अझ ठूला योजना अघि बढाउन थप ऊर्जा दिएको छ ।”

उनले कोहलपुरलाई “खेलकुद ग्राम” का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको समेत स्पष्ट पारे । खेलकुद केवल पदक जित्ने माध्यम नभई समाज सुधारको महत्वपूर्ण आधार भएको उनको भनाइ थियो । उनका अनुसार खेलकुदले युवालाई कुलत, हिंसा, दुव्र्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

लगातार पाँच वर्षसम्म जिल्ला स्तरीय सबैभन्दा ठूलो विद्यालय खेल प्रतियोगितामा उपाधि जित्नु सामान्य उपलब्धि होइन । यसले कोहलपुरमा खेलकुदप्रति राजनीतिक प्रतिबद्धता, संस्थागत तयारी र खेलाडीमैत्री वातावरण बलियो रहेको देखाएको छ । अब चुनौती उपाधि जोगाउने मात्र होइन, प्रदेश र राष्ट्रिय स्तरमा पनि यही लय कायम राख्ने काेहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष चक्र चिमाला क्षेत्रीले  बताए ।

तस्विर : AI बाट प्रयाेग गरिएकाे हाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार