फेल भएका विद्यार्थीलाई ‘तत्काल पास गरा’ भनेपछि शिक्षकले दिए राजीनामा




 

सुर्खेत । दैलेखका एक जना शिक्षकले ८ कक्षामा असफल भएका विद्यार्थीलाई तत्काल पास गराउन भन्दै दबाब आएपछि नैतिकताको आधारमा राजीनामा दिएका छन् ।

ती शिक्षक हुन्, चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बस्तकोटको श्री जनता माध्यमिक विद्यालयका विज्ञान शिक्षक विशाल विक्रम सावद ।

उनले प्रधानाध्यापकलाई राजीनामा पत्र लेख्दै भनेका छन्, ‘वर्षभरि पढाएर पास गराउन नसक्ने मलाई पालिकाले तत्काल पास गराउ भन्ने प्रश्नको जवाफ दिन नसकेपछि नैतिकताको हिसाबले साथीहरूलाई सहयोग गरेको छु । म अभाव सहन्छु, तनाव होइन महोदय ।’

२०८२ सालको कक्षा ८ को परीक्षालाई लिएर पालिकाले शिक्षकहरूको अपमान हुने गरी कुशासनको अस्त्र प्रयोग गरिरहेको उनको भनाइ थियो । त्यस्तो कुशासनको अस्त्र प्रयोग गरेको नाटकीय परीक्षामा सहमत हुन नसकेकाले जेठ २ गतेदेखि लागु हुने गरी शिक्षकबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

संघबाट अनुदानमा करार शिक्षक रहेका उनी उक्त विद्यालयमा २०८० मङ्सिर ८ गतेदेखि कार्यरत थिए । आफूले शैक्षिक धरोहर मानिने विद्यालयमा विकृति, विसङ्गति र कुराजनीति हुन्न होला भनेर कल्पनासम्म पनि नगरेको कुरा उल्लेख गरेका छन् ।

– राताेपाटीबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार