‘प्रिन्सिपल’ले झारिदिए विद्यार्थीका दुइटा दाँत

माउन्ट कन्चनजंगा बोर्डिङ स्कुल सर्लाहीमा शिक्षकको कुटाईबाट एक विद्यार्थी घाइते भएका छन्।

प्रधानाध्यापक अशोककुमार यादवको कुटाइबाट ११ वर्षका हिमतबहादुर महतो घाइते भएका हुन्। यादवले प्रहार गरेको लठ्ठीबाट महतोको दुई वटा दाँत भाँचिएको छ भने एउटा दाँत फुटेको छ।

फागुन–१० गते कक्षा–४ मा पढ्ने हिमत र कक्षा–६ मा पढ्ने सौरभ भगतबीच सामान्य झगडा भएको थियो। सोहीकारण प्रिन्सिपलले दुबै जना विद्यार्थीलाई लठ्ठी चार्ज गरेको थियो।

‘शिक्षकले झगडा छुट्याउनका लागि दुबैजनालाई मोटो लठ्ठीले कुट्नुभयो तर धेरै मेरो छोरालाई कुट्यो। सौरभलाई केही भएको छैन तर मेरो छोराको दाँत भाँचियो’, घाइतेका बुबा तेजनारायण महतोले बिएल नेपाली सेवासँग भने, ‘छोरालाई अस्पताल समेत लगेन।’

लठ्ठीको कुटाइबाट घाइते भएका हिमतलाई यादवले अस्पताल लैजानु सट्टा धम्काएको बुबा यादवको भनाइ छ। ‘छोराको मुखबाट रगत बगिरह्यो। प्रिन्सिपलले तमासा हेरिरहे’, रिसाउँदै उनले बताए।

प्रिन्सिपलको कुटाइबाट घाइते भएका हिमतको उपचार सर्लाही ईश्वरपुर–५ स्थित ‘नेपाल हेल्थ केयर हस्पिटल प्रा।लि’मा गरिएको तेजनारायणले बताए। उनका अनुसार हिमतको दाँत फलामको धागोले अड्काइएको छ।

‘छोरालाई खाना खानु पनि समस्या भइरहेको छ। दाँत निकालन नमिलेर फलामको धागोले अड्काइएको छ’, उनले बताए।

शिक्षकको कुटाइबाट घाइते भएका हिमतका बुबा तेजनारायणले प्रिन्सिपलविरुद्ध ईलाका प्रहरी कार्यालय केशरगन्जमा उजुरी दिएका छन्।