यातायात कार्यालय कोहलपुरमा ल्याउने मन्त्री ज्वालाको प्रतिबद्धता

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि महोत्सव सुरु भएको छ । ‘मेहनत, सिर्जना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ पाचौं प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव-२०८० आजबाट सुरु भएको हो । महोत्सवका प्रमुख अतिथि तथा भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्सवको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै मन्त्री ज्वालाले कोहलपुरमा यातायात कार्यालय स्थापना हुनुपर्ने बताए । यातायात कार्यालय लुम्बिनी प्रदेश सरकारको मातहतमा हुने भएकोले केन्द्र सरकारले यस बारे कुनै निर्णय लिन नसक्ने भन्दै मन्त्री ज्वालाले प्रदेश सरकारले नै पहल गर्नुपर्ने बताए ।

‘कोहलपुर—२ तेह्र विगाहमा लाईसेन्सको ट्रायल सेन्टर पनि छ,’ उनले भने, ‘कार्यालय नै कोहलपुरमा स्थापना भयो भने थप प्रभावकारी सेवा प्रदान हुनेछ ।’ कोहलपुर तीन प्रदेशको केन्द्रविन्दु रहेकोले भौगोलिक दृष्टिकोणले पनि उपयुक्त र राजमार्गसँग जोडिएकोले यातायात कार्यालय कोहलपुर हुनुपर्ने उनको भनाई थियो । यथासिघ्र कार्यालय स्थानान्तरणको प्रक्रिया अगाडी बढाउन मन्त्री ज्वालाले प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

मन्त्री ज्वालाले आफ्नै कार्यकालमा चप्परगौंडीदेखि सल्यानको घुईयाबारीसम्म जोड्ने सडक निर्माण कार्य अगाडी बढ्ने दावी गर्दै सडक निर्माणमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए ।

महोत्सव सुरुको दिनमा कोहलपुर नगरपालिका भित्रका विभिन्न झाँकीहरुको प्रर्दशन भएको थियो । जसमा दलित सेवा समाजको महिलाहरुको ‘पञ्चेबाजा’, गन्दर्र्भ समाजको ‘सारङ्गिको धुन’, जाजरकोटी समाज, दैलेखी समाज, थारु समाज लगायतले आ-आफ्नो प्रस्तुती देखाएका थिए ।

महोत्सवमा लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्ण केसी नमूना, संघिय सभा सदस्य सुर्य ढकाल, सभा सदस्य दुर्गा प्रसाद चौधरी, बसन्ती अधिकारी लगायत दर्जन बढिले भाषण गरेका थिए । महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका संयोजक हेम विक्रम जिसीले महोत्सव सञ्चालनमा सबैको सहयोगको अपेक्षा गरेको र केही कमीकमजोरी भएमा हामीलाई जानकारी गराउन अनुरोध गरेका थिए । झाँकीमा सहभागि सम्पूर्ण तथा दर्शकहरुलाई जिसीले हार्दिक कृतज्ञता व्यक्त गरे ।