फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकले फागुन १, २ र ३ गते विधान महाधिवेशन गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य गणेश शाहले सेतोपाटीलाई जानकारी दिए।

विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो। उक्त मस्यौदालाई तल्लो कमिटीसम्म पुर्‍याएर सुझाव संकलन गर्ने निर्णय आजको बैठकले गरेको शाहले जानकारी दिए।

पार्टीको तल्लो कमिटीबाट मस्यौदाबारे प्राप्त सुझावबारे छलफल र निर्णय गर्न माघको अन्तिम साता पुनः स्थायी कमिटीको बैठक बस्नेछ। ‘सो बैठकले मस्यौदाबारे निर्णय लिनेछ,’ विधान मस्यौदा समितिका सदस्य समेत रहेका शाहले भने।