मुहार फेर्दै हिमालय मदरसा

कोहलपुर ।

बाँकेको कोहलपुर ३ मा रहेको हिमालय मदरसा गरिब नमाज प्राथमिक विद्यालयले नयाँ स्वरुप परिवर्तन हुन थालेको छ । विद्यालयका भौतिक संरचना, बालबालिकाहरुले बस्ने डेक्स बेन्च, खानेपानी र शौचालय व्यवस्था भएपछि विद्यार्थीहरुको संख्या समेत बृद्धि भएको छ ।

२०५८ सालमा स्थापना भएको यो विद्यालयमा एउटा मात्र भवन थियो जसमा केही सिमित बालबालिकाहरु पढ्ने गर्थे । २०७७ सालमा थप एउटा भवन बनेको छ ।

विगत लामोसमयदेखि विव्यस गठन पक्रिया रोकिएपछि कुनै काम सुरु हुन सकेको थिएन तर विव्यस र अभिभावक संघ गठनपछि नयाँ कामहरु तिव्र रुपमा सञ्चालन भइरहेका छन् ।

कोहलपुर नगरपालिका ३ का वडा अध्यक्ष माधव रिजालले आफ्नो व्यक्तिगत खर्चबाट कार्पेट, साउण्ड बक्स लगायत करिब १ लाख भन्दा बढिको रकम सहयोग समेत गरिसकेका छन् भने कोहलपुर वडा नं. ३ कार्यालयबाट समेत भौतिक पूर्वाधार निर्माणका लागि ३ लाखको काम समेत सम्पन्न भइसकेको छ ।

यस्तै वडा नं. ४ का वडा अध्यक्ष मुवारक अलि गुजरले वडाबाट थप २ लाख रकम दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विद्यालयको भौतिक संरचना निर्माण गर्न दुवै वडाबाट सहयोग हुने गरेको छ । विद्यालय ३ नम्बर वडामा भएपनि ४ वडाका बहुसख्यक विद्यार्थी पढन जान्छन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र केसीले बालबालिकालाई विद्यालयसम्म आउने नयाँ योजना सहित अगाडी बढेको बताए । कोहलपुर टडेसंग कुराकानी गर्दै केसीले बालबालिकालाई खानेपानीदेखि शौचालयसम्म थिएन, अहिले समस्या समाधान भएको बताए ।

शिक्षकको अभाव रहेकोले केसीले वडाहुँदै पालिकाको शिक्षा शाखामा समेत शिक्षकको आवश्यकता पूर्ति गरिदिन अनुरोध गरेपनि अहिलेसम्म कुनै जानकारी नआएको बताए । कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो विद्यालयमा विपन्न समुदायका बालबालिका पढ्ने गर्छन् । विद्यालयमा अहिले २ सय २९ जना विद्यार्थीहरुले पढिरहेका छन् ।