अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट २७ जना खेलाडी काठमाण्डौं प्रस्तान, स-सम्मान सहित विदाई

कोहलपुर ।

११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँके जिल्लाका २७ जना खेलाडीहरु स-सम्मान सहित आज विदाई गरिएको छ ।

काठमाण्डौंको सातदोबाटो र ललितपुरमा भदौ २७ गतेदेखि ३१ गतेसम्म हुन लागेको ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका २७ जना खेलाडीहरुलाई स-सम्मान सहित आज विदाई गरिएको हो ।

दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी हुदैछन् ।

प्रतियोगितामा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी १ हजार ७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहनेछन् । यस्तै पुम्सेतर्फ २५ र ग्यरोगीतर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि स्पर्धा हुनेछ ।

खेलाडीहरुलाई सम्मान गर्दै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले भने, निर्धक्क भएर आफ्नो प्रदर्शन देखाउनु र प्रतियोगितामा पदक जितेर आउनु भन्दै बाँके जिल्लाको नाम चिनाउनुपर्ने जिम्मेवारी तपाईहरुको काधमा आएको बताए ।

खेलाडीहरुको आत्मबल बढाउँदै तालिममा आफूले जानेको र सिकेको कला प्रर्दशन गर्नु र बाँकेको शिर उच्च बनाउनु भन्दै अध्यक्ष लामिछानेले शुभकामना सहित बधाई समेत दिए ।

यस्तै लुम्बिनी तेक्वान्दो संघका सदस्य मोहन वलीले जितको अग्रिम शुभकामना दिँदै जिल्ला संगसंगै लुम्बिनी प्रदेशको समेत बोकेको किल्ला नभत्किन दिनु भन्दै खेलाडिहरुलाई हौसला प्रदान गरे ।

यस्तै खेलाडीको नेतृत्व गर्दै जिल्लाका कोच सुपर स्टार तेक्वान्दो डोजाङ्गका सिनियर गुरु महेश थापा र श्याम भट्टराई गएका छन् भने बाँके जिल्लादेखि राष्ट्रिय रेफ्री रामरति थारु समेत गएका छन् ।

यस्तै तेक्वान्दो संघका जिल्लाका सचिव जङ्ग विर चौधरी लगायत पदाधिकारी र सिनियर गुरुहरुले खेलाडीहरुलाई जितको अग्रीम शुभकामना दिएका थिए ।

प्रतियोगितालाई सम्पन्न गर्न उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिनेछ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। प्रतियोगिता आयोजनका लागि कोरियाली दुतावासबाट करिब ५ हजार अमेरीकी डलर, खेलाडी दर्ताबाट करिव १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्नेछ।