फेरियो ट्विटरको लोगो, चरोको ठाउँमा कुकुर!




ट्विटर इंकको लोगो फेरिएको छ। अब प्रयोगकर्ताहरूले ट्विटर लगइन गर्दा निलो चरोको सट्टा कुकुर देख्नेछन्।

बेलायती दैनिक पत्रिका द गार्डियनका अनुसार ट्विटरले सोमबार आफ्नो लोगो परिवर्तन गरेको हो। ट्विटरको लोगोमा निलो चरो थियो। तर अहिले यसको ठाउँमा एक भाइरल ‘मिम’मा देखिने कुकुर छ। उक्त लोगो राखेर ट्विटरले एक लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वइनको नक्कल गरेको द गार्डियनमा उल्लेख छ।

ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले सोमबार एक मिम ट्विट गर्दै लोगो परिवर्तन गरेको बारे जानकारी दिएका हुन्। उक्त ट्विटमा डजक्वाइले जवाफमा ‘धेरै मुद्रा। वाह। धेरै सिक्का। कति पैसा। त्यसैले क्रिप्टो’ भन्दै जवाफ दिएका छन्।

मस्कले ट्विटरमा त्यसरी डोजक्वइनको लोगो प्रयोग गर्नुको कारण भने खुलाएका छैनन्। यसलाई थुप्रै अन्तर्राष्ट्रिय पत्रिकाहरूले मस्कले डोजक्वइनको प्रचार गर्न खोजेको रुपमा पनि लिइरहेका छन्। ट्विटरमा डोजक्वइनको लोगो देखिएसँगै डोजक्वइनको मूल्य अमेरिकी डलर ०.०७९ देखि ०.०९४ पुगेको छ। यो सन् २०२२ को नोभेम्बरदेखि कै सबैभन्दा बढी मूल्य हो।

केहीले भने मस्कको यो कदमलाई अप्रिल फुल (मूर्ख दिवस) मा मस्कले रमाइलो गर्न खोजेको तर उक्त दिन (अप्रिल १ तारिख)मा सार्वजनिक हुन नसकेको भन्दै तर्क दिएका छन्।

यद्यपि मस्कले आफ्नो मुद्दा खारेज गर्न अमेरिकाको अदालतमा निवेदन दिएको भोलिपल्ट नै ट्विटरको लोगो परिवर्तन भएको हो।

हाल मस्कमाथि डोजक्वइनको पिरामिड शैलीबाट रकम उठाएर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेको आरोप छ। डोजक्वइनले मस्कले गरेको विभिन्न कार्यबापत भएको २५८ बिलियन अमेरिकी डलर क्षतिको माग राख्दै मुद्दा दायर गरेको थियो। तर उक्त मुद्दालाई मस्क र उनका वकिलले ‘काल्पनिक काम’ बताउँदै आएका छन्।

डोजक्वइनका लगानीकर्ताहरूले मस्कले नियतबस डोजक्वइनको मूल्य बढाएको र पछि बेवास्ता गरेको आरोप लगाइरहेका छन्। उनीहरूका अनुसार मस्कलाई पहिलेनै सन् २०१९ देखि क्रिप्टोकरेन्सीको मूल्य नहुने थाहा भएको तर पनि नाफा आर्जनको लागि डोजक्वइनलाई बढावा दिएको आरोप छ।

प्रकाशित मिति : २०७९ चैत २१ गते मंगलबार