Kohalpur Today Header Ads

प्रयोगशाला क्षेत्र सुधारको माग गर्दै दिपक शर्माको खुला पत्र !




म, दिपक शर्मा, यो खुला पत्रमार्फत ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन तथा टेक्नोलोजिस्ट साथीहरूको साझा आवाज प्रस्तुत गर्न चाहन्छु। देश नयाँ सरकारको नेतृत्वमा अघि बढिरहेको यस महत्वपूर्ण घडीमा स्वास्थ्य क्षेत्रको एक अत्यन्त संवेदनशील तर प्रायः ओझेलमा पर्ने पक्ष प्रयोगशाला सेवातर्फ ध्यानाकर्षण गराउन यो पत्र लेख्दैछु ।

स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको प्रयोगशाला सेवा आधुनिक चिकित्सा प्रणालीको अभिन्न अंग हो । आजको अवस्थामा रोगको करिब ७० प्रतिशतभन्दा बढी निर्णय प्रयोगशाला रिपोर्टका आधारमा गरिन्छ भन्ने तथ्य सर्वविदित छ तर विडम्बना, स्वास्थ्य प्रणालीको मेरुदण्ड मानिने यो सेवा अझै पनि दरबन्दी, स्रोत–साधन र संरचनात्मक विकासका दृष्टिले उपेक्षित अवस्थामै रहेको छ ।

LIfe Ok

संघ, प्रदेश र स्थानीय तहका गरी सबै ७५३ वटै पालिकामा तथा वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रसम्म प्रयोगशाला सेवाको पहुँच विस्तार गर्न स्थायी दरबन्दीको व्यवस्था गर्नु अत्यन्त आवश्यक छ। प्रयोगशाला सेवा बिना सही निदान र प्रभावकारी उपचार सम्भव हुँदैन । तर यसै क्षेत्रमा कार्यरत जनशक्ति आज पनि न्यून तलब, असुरक्षित कार्य वातावरण र सरकारी क्षेत्रमा अत्यन्त सीमित दरबन्दीका कारण निराश अवस्थामा छन् ।

त्यसैगरी, करार नियुक्तिमा देखिने अपारदर्शिता, नातावाद तथा स्रोत–साधनको प्रभावजस्ता विषयहरूले योग्य र मेहनती जनशक्तिको मनोबल घटाइरहेका छन् । नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र योग्यतामा आधारित हुनुपर्छ भन्ने हाम्रो दृढ अपेक्षा रहेको छ ।

हामीले केवल उचित सम्मान, न्यायोचित पारिश्रमिक, स्पष्ट करियर मार्ग, पर्याप्त सरकारी दरबन्दी तथा पारदर्शी नियुक्ति प्रक्रियाको माग गरेका छौं । प्रयोगशालामा खटिने जनशक्तिको सशक्तीकरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिँदैन ।

प्रयोगशाला क्षेत्र सुधारका लागि स्पष्ट मार्गचित्र आवश्यक छ, जसमा ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन र ल्याब टेक्नोलोजिस्ट सबैलाई समेटिनुपर्छ । उपचार सुरु हुनु अघि सही निदान आवश्यक हुन्छ, र निदानको आधार प्रयोगशाला नै हो। यही मेरुदण्ड सम्हाल्ने जनशक्तिलाई प्राथमिकतामा नराखी स्वास्थ्य सेवा कहिल्यै गुणस्तरीय बन्न सक्दैन ।

यसका साथै, बायोसेफ्टीको सुनिश्चितता, पीसीआर, अटोमेशन तथा मोलेकुलर ल्याबजस्ता आधुनिक प्रविधिमा लगानी, न्यूनतम तलबको व्यवस्था, जोखिम भत्ता, बीमा लगायतका सुविधा सुनिश्चित गरिनु आवश्यक छ । शिक्षा र रोजगारीबीच सन्तुलन कायम गर्ने नीतिमार्फत प्रयोगशाला सेवालाई आधुनिक र प्रभावकारी बनाउनु जरुरी छ ।

अतः, देशभरिका अस्पताल, स्वास्थ्य चौकी तथा सेवा केन्द्रहरूमा प्रयोगशाला सेवा पूर्ण रूपमा सञ्चालन गर्न नयाँ सरकारले नीति तथा कार्यक्रममा यस क्षेत्रलाई समावेश गरी छिटो दरबन्दी सिर्जना, विज्ञापन प्रकाशन वा आन्तरिक पदपूर्तिमार्फत सेवा प्रभावकारी बनाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।

(प्रयोगशालाकर्मी दिपक शर्मा, कोहलपुर नगर अस्पतालमा कार्यरत छन् )

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार