प्यूठानकी युवतीको रुपन्देहीमा रहस्यमयी मृत्यु 

बुटवल ।

प्यूठानकी एक युवतीको रुपन्देहीमा रहस्यमयी तरिकाले मृत्यु भएको छ । ९ दिनअघि नै घटना घटे पनि दोषीलाई अझै कारबाही प्रक्रियामा नल्याएको भन्दै आफन्तले मृतकको शव उठाएका छैनन् ।

प्यूठान नगरपालिका–५ जुम्रीकाँढा पूर्णगाउकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका १३ मा पुस ४ मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । भित्र लालमती झुन्डिएको भए पनि कोठाको बाहिरबाट चाबी लगाइएको थियो ।

मृतकका परिवारले उनका प्रेमी जोर्डनविक्रम श्रेष्ठविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन् । प्रहरीले आरोपितलाई पक्राउ नगरेपछि न्याय नपाएको भन्दै शव नबुझेका हुन् । उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ ।

लालमतीले दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी थिइन् । छिमेकीका अनुसार लालमती र सिद्धार्थनगर नगरपालिका–१ रुपन्देहीका ३० वर्षीय जोर्डनविक्रम श्रेष्ठ पहिल्लैदेखि प्रेममा थिए । अघिल्लो महिनादेखि बिहे गरेको बताउँदै एउटै कोठामा बस्दै आएका थिए ।

आइतबार साँझसम्म पनि आरोपित व्यक्ति लालमतीको कोठामा थिए । सोमबार बिहान ४ बजेतिर ढोका खोलेको आवाज आएको थियो । त्यसपछि कोठा नखुलेको तर, झ्यालबाट चिहाउँदा शंकास्पद देखिएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका दाइ टेकराज खत्रीले प्रहरीले प्रमाण नपुगेको भन्दै श्रेष्ठलाई पक्राउ नगरेको गुनासो गरे । बहिनीको कोठामा आरोपित व्यक्तिको नागरिकता र सेतो गन्जी भेटिएको उनले बताए । परिवारले लालमती र श्रेष्ठकोबीच भएको च्याटको कुराकानी, उनको कोठामा कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक पनि प्रहरीलाई दिएका छन् । सबै प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि आरोपितलाई प्रक्राउ नगरेको उनले दुखेसो पोखे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले भने अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरिएपनि अदालतले पक्राउ आदेश नदिँदा आरोपितलाई पक्राउ नगरिएको बताए ।

‘सुरुवातमा प्रमाण जुटाउँदा समय लागेको थियो । पुस ८ गते नमबहादुर खत्री क्षेत्रीको नामबाट किटानी दिइएको थियो । तर अदालतले पक्राउ गर्न आदेश दिएन,’ प्रहरी प्रवक्ता अर्यालले आरोपित र मृतकबीच थप प्रमाण जुटाउन कलडिटेल परीक्षण गर्न पठाएको जनाए । मृतकका दाजु केसीले भन्छन्, ‘बहिनी त गुमायौँ । न्याय पाउने आशा थियो । आरोपितलाई पक्राउ गरेर कारबाही प्रक्रिया नथाल्दासम्म शव उठाउँदैनौं ।’

कान्तिपुरबाट साभार