बमले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक

नेपालगन्ज 

नेकपा (माओवादी केन्द्र)बाट बाँकेको प्रदेश सभा २(२) का उम्मेदवार अकलबहादुर बमले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेपालगन्जमा मंगलबार एक कार्यक्रमका बीच उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । बमले उक्त प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रमा गर्न सकिने कामलाई समेटेका छन् ।

उक्त कार्यक्रममा उनले बाँकेको क्षेत्र नम्बर १ र ३ मा गठबन्धन हुदै गर्दा २ नम्बर क्षेत्रमा हुन नसकेर मित्रवत प्रतिस्पर्धा गर्न लागिएको बताए । ‘अरु क्षेत्रमा संयुक्त रुपमा चुनावी प्रचार भइरहेको छ, तर विडम्बना यो क्षेत्रमा हुन सकेको छैन, हामी मित्रवत प्रतिस्पर्धा गरिरहेका छौं,’ उनले भने ।

पाँच दलबीच भागबण्डा गर्दा २०७४ सालको निर्वाचन परिणाम अनुसार गर्ने सहमती भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले क्षेत्र नम्बर २ मा काँग्रेसले एउटा पनि सिट छाड्न नमान्दा आवश्यकता अनुसार मित्रवत प्रतिस्पर्धा गर्नु परेको बमले बताए । चुनावको अन्तिम समयसम्म पनि आफ्नो उम्मेदवारी कायम रहने भन्दै कोही पनि भ्रममा पर्न नहुने बताए ।