मध्यपश्चिम विश्वविद्यालयद्वारा अन्तरराष्ट्रिय सम्मेलन सफल बनाउन एन प्याब्सन र होटेल व्यवसायी महासंघसँग सहकार्यका लागि छलफल गरिएको हो । सुर्खेत, चैत्र १६ गते । मध्यपश्चिम विश्वविद्यालयले आगामी बैशाख ११ देखि १३ गतेसम्म आयोजना गर्ने अन्तरराष्ट्रिय सम्मेलन २०२६ लाई सफल बनाउन विभिन्न सरोकारवाला संस्थासँग सहकार्य विस्तार गर्ने क्रममा निजी विद्यालयहरूको छाता संगठन एन प्याब्सन र होटेल व्यवसायीहरुको साझा संगठन होटेल व्यवसायी महासंघसँग छुट्टाछुट्टै छलफल सम्पन्न गरेको छ ।

विश्वविद्यालयका तर्फबाट अन्तरराष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवाली, सदस्य–सचिव डा. विष्णुकुमार खड्का, सदस्य डा. लक्ष्मीप्रसाद आचार्य तथा प्राविधिक सहयोग समितिका सदस्य एवं सूचना अधिकारी शेरबहादुर केसीको उपस्थितिमा सम्पन्न छलफलमा सम्मेलनलाई प्रभावकारी र भव्य रूपमा सम्पन्न गर्न आवश्यक सहकार्यका विविध पक्षमा विचार–विमर्श गरिएको थियो।

छलफलका क्रममा समितिका पदाधिकारीहरूले सम्मेलनको महत्व, यसको अन्तरराष्ट्रिय पहुँच तथा विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धानात्मक पहिचान अभिवृद्धिमा यसले खेल्ने भूमिकाबारे जानकारी गराउँदै प्रायोजन तथा सहकार्यका विभिन्न सम्भावनाहरू प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा एन प्याब्सन तथा होटेल व्यवसायी महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूले सम्मेलन सफल पार्न आवश्यक सहयोगका लागि सकारात्मक प्रतिबद्धता जनाए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्