डेंगु सङ्क्रमित ४७ को मृत्य

काठमाडौं।

नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ३८ हजार ९१८ जनामा डेंगु पुष्टि भैसकेको छ ।

इडिसीडीअनुसार सबैभन्दा धेरै सङ्क्रमित १० जिल्लामा छन् । जसमा छ वटा जिल्ला बागमती प्रदेशका छन् । सङ्क्रमित भएका जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा १२ हजार १०२, ललितपुरमा आठ हजार ५५४, मकवानपुरमा तीन हजार ९३३, भक्तपुरमा दुई हजार ४७५, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार ३८९, रुपन्देहीमा एक हजार १७५, धादिङमा ६७९, सुर्खेतमा ४५९ र कैलालीमा ४१७ जना गरी तीन हजार ३८७ जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै, प्रदेश नम्बर १ मा एक हजार २३९, मधेस प्रदेशमा ६०८, बागमती प्रदेशमा २९ हजार ९९१, गण्डकी प्रदेशमा ९९०, लुम्बिनीमा चार हजार ३६५, कर्णाली प्रदेशमा ६२८, सुदूरपञ्चिम प्रदेशमा एक हजार ९७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गए पनि तराईका जिल्लामा भने प्रकोप बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविज्ञ डा.बाबुराम मरासिनीले पहाडी र हिमाली जिल्लामा बिस्तारै डेंगु संक्रमित घट्दै गए पनि तराईका जिल्लामा प्रकोप बढ्न सक्ने बताउनुहुन्छ । उहाँका अनुसार जाडो बढ्न सुरु भएसँगै काठमाडौंलगायत पहाडी भेगमा डेंगु संक्रमण कम हुँदै जाने र बिस्तारै तराईका जिल्लामा संक्रमण बढ्न सक्छ ।

उहाँ भन्नुहुन्छ ‘डेंगु सार्ने लामखुट्टे धेरै गर्मीमा बाँच्दैनन्, त्यसैले गर्मीमा तराईमा यसको प्रकोप तुलनात्मक रुपमा कम देखिएको हो अब तराईमा गर्मी कम हुँदै गएकाले डेंगु संक्रमण तराईतिर बढ्ने सम्भावना बढी छ ।’