कोहलपुर १२ मा नमूना बालविकास केन्द्र उद्घाटन

भगवती पोख्रेल, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा नमूना बालविकास केन्द्र उद्घाटन गरिएको छ । आइतबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नमूना बालविकास केन्द्र उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले नगरपालिकाको शिक्षा शाखाको नितिगत निर्णयका आधारमा यो विद्यालय नमूना बालविकास केन्द्र परेको बताए ।

कोहलपुर नगरपालिका भित्र १ नमूना बालविकास केन्द्र, (१-५) नमूना विद्यालय र (१-८) नमूना आधारभूत विद्यालय बनाउने योजना ल्याएको बताउँदै बालविकास केन्द्रका लागि १० लाख रुपैया विनियोजन गरिएको बताए ।

आचार्यले सामुदायिक विद्यालयका अभिभावकहरुले शिक्षकलाई मात्र दोष दिन नहुने बताए । संस्थागत र सामुदायिक विद्यालयप्रतिको तुलना गर्दै गएकोले शिक्षकले विशेष ध्यान दिनुपर्ने र अभिभावकको चासो, चिन्ता र चेतनाको कमि रहेको आचार्यले बताए ।

नगर प्रमुख हुँदा सम्म कोहलपुरका सबै सामुदायिक विद्यालयको छानामुक्त विद्यालय बनाउने योजनाका साथ अगाडी बढेको आचार्यले बताए । सो योजनालाई अपनत्व लिन साझेदारीमा काम गर्न तयार रहेको बताए । नगरभित्र रहेका गरिब, निमुखा, पिछडिएका अभिभावकका छोराछोरीलाई केन्द्रिकृत गरि विद्यालयको विकास गर्न तयार रहेको आचार्यले बताए ।

यस्तै शिक्षक अभिभावक संघ अध्यक्ष डिवि डाँगीले सामुदायिक विद्यालयमा अभिभावकहरु नै उपस्थित नहुने भन्दै अभिभावकको जिम्मेवारीको अभाव महशुस गरेको बताए ।

अभिभावकहरुले आफ्ना छोराछोरीको पढाइको बारेमा जानकारी लिने र घरमा पनि पढाइप्रतिको चाहाना बढाउन अभिप्रेरित गर्ने वातावरण तयार गराउनुपर्नेमा डाँगीको जोड थियो ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहले अभिभावकमा चेतना नभएसम्म बालबालिकाको चौतर्फी विकास हुन नसक्नेमा जोड दिए । अभिभावकहरुमा सामुदायिक विद्यालयमा निःशुल्क हुँदा जिम्मेवारी कम बोध गरेको अनुभव भएको शाहले बताए ।

सामुदायिक विद्यालयमा प्राध्यापनरत शिक्षक र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने भन्दै शिक्षकहरुको विश्रामथलो र व्यवस्थापन समितिको राजनीतिक थलो भएकोले यो सुधार गरेर अगाडी बढन आग्रह गरेका थिए ।

यस्तै सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले खडकवार शिक्षा क्षेत्रमा पछडिएको महशुस भएकोले यसलाई नमुना बालविकास केन्द्र स्थापना गरेको बताए । विव्यस, शिक्षक र कर्मचारीहरुले यो प्रथम अभ्यास भएकोले राम्रो बनाएर अगाडी बढ्न विकले अनुरोध गरे ।

विद्यालयमा भएको नमूना बालविकास केन्द्रमा सेवा सुविधा देखाउँदै अभिभावकले अपनत्व हुने वातावरणमा तयार गर्न समेत अनुरोध गरे । अहिले बालविकास केन्द्रमा एसी, वाईफाई, भित्तालेख्न, टेलिभिजन लगायतका आवश्यक पर्ने खेलौना सहितको अत्याधुनिक नमूना विद्यालयको अवधारणाका साथ अगाडी बढिरहेका छौं आगामी दिनमा अन्य विद्यालयमा पनि नमूना विद्यालयहरुको स्थापना गरी नयाँ कार्यक्रमहरु दिने योजना रहेको जानकारी दिए ।

विकका अनुसार कोहलपुरमा आगामी नीति तथा कार्यक्रममा नगरभित्रका शिक्षकहरुलाई तालिम सिकाइ केन्द्र स्थापना गर्ने बताए । विद्यालयको शैक्षिक अवस्था सुधार गरी आगामी दिनमा सुधार गर्दै जाने बताए । अवका दिनमा कक्षा ५, ८ र ११ मा समेत नगरस्तरिय परिक्षा लिने नीति लिएको बताए ।

यस्तै कार्यक्रममा शिक्षाविद् तथा वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक एकराज शर्मा, विद्यालयका शिक्षक, कर्मचारी अभिभावक पत्रकारको उपस्थित रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक भिम खरेलले सहजीकरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खड्काको सभापतित्वमा कार्यक्रम गरिएको थियो ।