शिवशक्ति आविका विद्यार्थीलाई जिवन उपयोगी सीप शिक्षा सम्बन्धी तालिम

अस्मिता वि.क, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२, प्रेम नगर स्थित शिवशक्ति आधारभुत विद्यालयमा गठित बाल क्लब र किशोरी क्लब, नेपाल रेडक्रस जुनियर सर्कलका पदाअधिकारीहरुलाई जिवन उपयोगी सीप शिक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । आइतबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी र २ का वडा अध्यक्ष हरि कठायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै उपप्रमुख सुवेदीले घोगन्ते विद्याभन्दा जिवन उपयोगी सीप अहिले अति आवश्यक रहेको बताइन् । ‘किताब मात्र अध्ययन गरी उत्कृष्ट नम्बर ल्याउनु मात्र शिक्षा होइन’ उनले भनिन्, ‘अभिभावकहरुले भने उत्कृष्ट नम्बर ल्याउनु मात्र शिक्षा हो भन्ने सोचाई छ त्यसलाई परिवर्तन गर्नुपर्छ ।’ त्यसकारणले कोहलपुर नगरपालिकाले बालबालिकाहरुलाई जिवन उपयोगी शिक्षाका कार्यक्रमहरु थालनी गरिएको सुवेदीले बताइन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतले विद्यार्थीलाई जिवन उपयोगी शिक्षा कार्यक्रमका लागि तीन वटा विद्यालयमा बजेट व्यवस्थापन गरिरहेको बताए । शिव शक्ति आविमा विद्यार्थीलाई जिवन उपयोगी शिक्षा कार्यक्रम तीन दिन सम्म चल्नेछ भने लक्ष्मी मावि र मुक्ति प्रा.विमा यो कार्यक्रम केही दिनमा सञ्चालन हुने अध्यक्ष कठायतले बताए ।

यस्तै कार्यक्रमबाट विद्यार्थीहरुमा क्षमता विकास प्रतिभा पहिचान लैंगिकता यौननिक्ता शारीरिक तथा मानसिक विकास आत्मनिर्भर उत्पादन बजारीकरण सृजनसिल बानी व्यवहार लगायतका विषयवस्तु छनौट गरि सीप हासिल गर्नसके विद्यार्थीमा क्षमता विकास हुने र शिक्षाको सिकाईसंग सीप व्यवहारिक हुने हँुदा तालिम आवश्यक भएको शिवशक्ति आवीका प्रानाध्यापक बद्रिनाथ सापकोटाले बताए ।

यस्तै सृजनशिल बालक्लबको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ वडा कार्यालयको आर्थिक सहयोग र दिव्य ज्योती बाल क्लबको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । यो कार्यक्रम २९ गतेसम्म चल्नेछ ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, विव्यस अध्यक्ष विरेन्द्र कुमार बस्नेत र रुम टि रिड बाँकेका खडक वहादुर कुंवर, सुस्मा राई लगायत उपस्थिति रहेको थियो ।