कोहलपुर ।
नारी हिंसा, उत्पीडन र विभेद बोकेको ‘मोम्चो’ । चेपाङ भाषाको शब्द हो ‘मोम्चो’ । ‘मोम्चो’ नारी वा महिला भन्ने अर्थ हुन्छ । यस कथासङ्ग्रहले नारीहरुको विषयमा निकै नजिकबाट समस्याहरुलाई उठाएको छ । आख्यानकार तथा पत्रकार बसन्त पराजुलीद्धारा लेखिएको दोस्रो कथासङ्ग्रह हो ‘मोम्चो’ ।
शनिबार कोहलपुरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा भएको ‘मोम्चो’ परिचर्चा कार्यक्रम गरिएको थियो । भुँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो १ सय ६६ पेजको कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । यस कथासङ्ग्रह नारीहरुको मर्म, विचार, स्पर्श, भावना, आवेग, क्रोध, विद्रोह जस्ता निकै गहिराईमा पुगि चर्चा गरिएको छ ।
चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीवरूपमा उतारिएको छ । पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिकरूपमा सरल भाषामा प्रस्तुत गरेको पाइन्छ । यस कथासङ्ग्रहलाई टिप्पणीकार सुमित्रा न्यौपाने, विष्णु पादुका र सागर गैरेले नारी क्षेत्रमा भरीएको बारे चर्चा गरेका थिए ।
टिप्पणीकार सुमित्रा न्यौपानेले ‘मोम्चो’ कथा सङग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणामस्वरुप सिर्जित नारी समस्यालाई सशक्तरूपमा उठान गरेको बताइन् । टिप्पणीकार विष्णु पादुका र सागर गैरेले पनि नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएको बताएका थिए ।
वरिष्ठ सञ्चारकर्मी पराजुली लामो समयदेखि ‘गोरखापत्र दैनिक’ का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् । तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन् । कार्यक्रममा पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटर, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव हिरामणि ढकाल लगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका निवर्तमान अध्यक्ष महानन्द ढकाल, वर्तमान अध्यक्ष कपिल अन्जान तथा साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्