समयमा नै काम सम्पन्न नगरेको भन्दै ८ निर्माण कम्पनीलाई कालो सूचिका लागि प्रक्रिया सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले समयमा नै काम सम्पन्न नगरेको भन्दै ८ निर्माण कम्पनीहरुलाई कालो सूचिका लागि प्रक्रिया सुरु गरेको छ । कोहलपुर नगर कार्यपालिकाको साउन ११ गते बसेको बैठकले गत असार २५ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा कार्य सम्पन्न गर्न नगरेका ८ वटा निर्माण कम्पनीलाई कालो सूचिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले सार्वजनिक खरिद ऐन २०६३, एवं नियमावली २०६४ र कोहलपुर नगरपालिकाको सार्वजनिक खरिद ऐन २०७६ बमोजिम हर्जना, दण्ड जरिवाना, कार्वाही, कार्यसम्पादन जमानत बैंक ग्यारेन्टी जफत एवं कालोसूचीमा राख्न सिफारिस गर्ने सम्मको प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले आगामी दिनहरुमा योजनाहरु समयमै काम सम्पन्न हुने गरी निर्माण व्यवसायीहरुलाई जबाफदेही बनाउने निर्णय समेत गरिएको नगर प्रमुख आचार्यले बताए ।

आचार्यका अनुसार समयमै काम सम्पन्न नहुँदा संघ एवं प्रदेश सरकारको सशर्त अनुदान रकम फिर्ता हुने र नगरपालिकाले दायित्व बहन गर्नुपर्ने हुँदा करोडौ नोक्सानी रहेको अवस्थामा सुधार ल्याउनका लागि यस्तो निर्णय गर्नुपरेको हो ।

नगर कार्यपालिका बैठकले नगरसभा वा कार्यपालिकाको निर्णय विना नै मौखिक आदेशका आधारमा सम्झौता गरिएका, कागजातहरु पूर्ण नभएका, फिल्डमा निर्धारित अवधिमा कार्य भए/नभएको एकिन गर्न नसकिएका कार्यपालिकाको बैठकमा पेश भएका विभिन्न ११ योजना तथा कार्यक्रमहरुको भुक्तानी गर्न नसकिने निर्णय समेत भएको नगर प्रमुख आचार्यले बताए ।

चालू आर्थिक बर्ष २०७९/८० मा ८ निर्माण कम्पनीहरुले काम सम्पन्न नभएका कामहरुको पुनः टेण्डर प्रक्रिया अघि बढाई पूर्वाधार विकासतर्फ विनियोजित बजेटबाट भुक्तानी हुने गरी ठेक्का व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

कुन-कुन छन्, निर्माण कम्पनी ?

कोहलपुर नगरपालिकाले निर्माण कम्पनीहरुलाई समयमा नै काम सम्पन्न नभएपछि कारवाही गर्ने यो पहिलो निर्णय हो । यस अघिको सरकारले निर्माण कम्पनीहरुलाई म्याद थप्दै जाने प्रचलन थियो तर यो अहिलेको सरकारले भने म्याद थप होइन कारवाहीको पक्रिया अघि बढाएको छ ।

जसमा जय दुर्गे महाकाली सेवा कञ्चनपुर, के.आर.कन्स्ट्रक्सन कोहलपुर, शोभा लक्ष्मी कन्स्ट्रक्शन कोहलपुर, वशिष्ठ निर्माण सेवा गेरुवा बर्दिया, महारुद्र निर्माण सेवा कोहलपुर, जय भवानी निर्माण सेवा कोहलपुर, न्यौपाने कन्स्ट्रक्शन कोहलपुर र हार्दिक कन्स्ट्रक्शन जानकी रहेका छन् ।