बाँके र बर्दियामा कुन–कुन क्षेत्रमा सहमति जुट्यो ?

सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ ।

छलफलमा सहभागी नेताहरुका अनुसार निर्वाचन क्षेत्रगत रुपमा छलफल गर्दै जाँदा धेरै जसो ठाउँमा कुरा मिलेको देखिन्छ । तर जब दलले पाउने कुल सिट संख्याको कुरा आउँछ, फेरि हिसाब बिग्रिन्छ ।

‘कांग्रेस ९० बाट तल झर्न तयार भएको छैन, माओवादीले ५० भन्दा तल जाने कल्पना गरेको छैन । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि २० सिटभन्दा तल जान तयार छैनन्’, कार्यदलका एक नेता भन्छन्, ‘नमिलेका त्यही १५  र २० सिटमा हो ।’

कार्यदलका सदस्यहरुका अनुसार अहिलेसम्म पाँचै दल गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् र अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।

बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीले लिने छन् ।