
कृष्ण कुमार शाही, कोहलपुर । कोहलपुर–११ स्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नवनिर्वाचित कार्यसमितिको पदभार तथा शपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रमसँगै बसेको कार्यसमितिको पहिलो बैठकले आगामी ६ महिनाभित्र पुस्तकालयलाई डिजिटल पुस्तकालयका रूपमा विकास गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
निर्वाचन समिति संयोजक अधिवक्ता ईश्वरीप्रसाद ज्ञवालीले नवनिर्वाचित अध्यक्ष एकराज शर्मा सहित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पुस्तकालयलाई समयानुकूल रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकारसँग सहकार्य गरी समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। उनले २१औँ शताब्दीको आवश्यकता अनुसार पुस्तकालयलाई डिजिटल प्रविधिसँग जोड्नुपर्ने उल्लेख गर्दै पछिल्लो समय कमजोर बन्दै गएको पठन संस्कृतिलाई पुनर्जीवित गर्न नवीन योजना आवश्यक रहेको बताए।
नगरप्रमुख आचार्यले ज्ञानोदय पुस्तकालयले २५ वर्षको यात्रा तय गरिसकेको उल्लेख गर्दै यस अवधिमा संस्थाले समुदायमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए। उनले पुस्तकालयको नयाँ नेतृत्वलाई एकताबद्ध भएर संस्थालाई अझ प्रभावकारी, उत्तरदायी र समुदायमैत्री बनाउन आग्रह गरे। लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गर्दै उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।

शपथ ग्रहणपछि अध्यक्ष एकराज शर्माले औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए। पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालका प्राथमिकता र प्रतिबद्धता सार्वजनिक गरेका थिए। अध्यक्ष शर्माले पुस्तकालयको नेतृत्व प्राप्त गर्नु आफ्नो लागि गौरवसँगै ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै आफूलाई निर्वाचित गराउन सहयोग गर्ने संस्थापक सदस्य, संस्थागत सदस्य, पूर्व अध्यक्ष, पूर्व कार्यसमिति, आजीवन सदस्य, पुस्तकालयप्रेमी, बौद्धिक व्यक्तित्व, स्थानीय सरकार तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरे। उनले उपचाररत कार्यसमिति सदस्य लक्ष्मीकुमारी पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।

अध्यक्ष शर्माले सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थाको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गर्दै पुस्तकालयलाई ज्ञान, अनुसन्धान र सिकाइको केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरे। उनले भौतिक तथा डिजिटल पूर्वाधार सुदृढीकरण, पुस्तक, जर्नल, सन्दर्भ सामग्री तथा डिजिटल स्रोतहरूको पहुँच विस्तार, ई–लाइब्रेरी सेवा सञ्चालन तथा सूचना प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए।
त्यसैगरी बालबालिका तथा युवामैत्री कार्यक्रम सञ्चालन, विद्यालय, क्याम्पस, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य विस्तार, समुदायको आवश्यकता अनुसार ज्ञानमूलक कार्यक्रम सञ्चालन, संस्थागत गतिविधि तथा आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने र दीर्घकालीन स्रोत व्यवस्थापनमा जोड दिने उनको प्रतिबद्धता रहेको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विपन्न समुदायको पहुँच सुनिश्चित गर्दै पुस्तकालयलाई सबै समुदायको साझा सम्पत्ति बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले “समृद्ध समाजको आधार ज्ञान हो, र ज्ञानको आधार पुस्तकालय हो” भन्ने मान्यतालाई व्यवहारमा उतार्ने बताए। साथै ज्ञानोदय सामुदायिक पुस्तकालयलाई कोहलपुरको मात्र नभई बाँके जिल्लाकै नमूना सामुदायिक पुस्तकालयका रूपमा स्थापित गर्ने दृढ संकल्प व्यक्त गरे।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष चेतकान्त भट्टराईले आफ्नो कार्यकालमा सुरु गरिएका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। उनले समयको आवश्यकता अनुसार सुधार र परिमार्जन गर्दै संस्थालाई अगाडि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, नेकपा एमाले नगर सचिव हेमकुमार रावत, नेकपाका नगर अध्यक्ष बलबहादुर खड्का, निर्वाचन समितिका सदस्यहरू रुद्रमणि न्यौपाने र विष्णु बेल्वासे, भेरी शीतभण्डार कोहलपुरका सदस्य गौरिकान्त आचार्य, पूर्व अध्यक्ष लीलबहादुर राना, निवर्तमान कोषाध्यक्ष पवित्रा ढकाल, सल्लाहकार महानन्द ढकाललगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, साहित्यकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष एकराज शर्माले गरेका थिए भने सहजीकरण निर्वाचन समिति सदस्य विष्णु बेल्वासेले गरेका थिए।

पदभार ग्रहणलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सातवटा प्रस्ताव पारित गरेको छ। बैठकले निर्वाचन प्रक्रियामा सहयोग पुर्याउने संस्थापक, आजीवन तथा साधारण सदस्य, स्थानीय सरकार, राजनीतिक दल, पुस्तकालयप्रेमी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै उपचाररत कार्यसमिति सदस्य लक्ष्मीकुमारी पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा आर्थिक वर्ष २०८१/०८२ को नवीकरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

बैठकको सबैभन्दा महत्वपूर्ण निर्णय भने आगामी ६ महिनाभित्र ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई पूर्ण रूपमा डिजिटल पुस्तकालयका रूपमा विकास गर्ने रहेको अध्यक्ष शर्माले जानकारी दिए। उनका अनुसार डिजिटल पुस्तकालय स्थापना भएपछि पुस्तकालयका सेवा, स्रोत, अभिलेख तथा सूचना प्रवाहलाई आधुनिक प्रविधिमार्फत समुदायसम्म सहज, छिटो र प्रभावकारी रूपमा पुर्याउन सकिनेछ। नयाँ नेतृत्वको यो निर्णयलाई पुस्तकालयको आगामी यात्राको महत्वाकांक्षी र दूरगामी योजनाका रूपमा हेरिएको छ।

यि हुन निर्णय
१. डिजिटल पुस्तकालय निर्माणलाई प्राथमिकता दिने
डिजिटल युगको आवश्यकता अनुरूप पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल पुस्तकालयको विकास गर्नेछौं। सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गर्नेछौं।
२. ज्ञान, अनुसन्धान र सिकाइको केन्द्रका रूपमा विकास गर्ने
पुस्तकालयलाई केवल पुस्तक संग्रहालयका रूपमा सीमित नराखी अध्ययन, अनुसन्धान, नवप्रवर्तन र सिकाइको साझा केन्द्रका रूपमा विकास गर्नेछौं।
३. भौतिक तथा डिजिटल पूर्वाधार सुदृढ गर्ने
पुस्तक, जर्नल, सन्दर्भ सामग्री तथा डिजिटल स्रोतहरूको पहुँच विस्तार गर्दै ई–लाइब्रेरी तथा डिजिटल सूचना सेवाको विकासमा विशेष जोड दिनेछौं।
४. बालबालिका तथा युवामैत्री कार्यक्रम सञ्चालन गर्ने
बालबालिका र युवाहरूलाई पुस्तकालयसँग जोड्ने सिर्जनात्मक तथा नवीन कार्यक्रम सञ्चालन गरी अध्ययन संस्कृतिको विकास गर्नेछौं।
५. समुदायसँग सम्बन्ध विस्तार गर्ने
विद्यालय, क्याम्पस, स्थानीय सरकार, सामाजिक संघसंस्था तथा निजी क्षेत्रसँग सहकार्य गर्दै समुदायको आवश्यकता अनुसार ज्ञानमूलक कार्यक्रम सञ्चालन गर्नेछौं।
६. पारदर्शिता, सुशासन र उत्तरदायित्व कायम गर्ने
संस्थाका सम्पूर्ण गतिविधि तथा आर्थिक कारोबार पारदर्शी बनाइनेछ। निर्णय प्रक्रियामा सहभागिता, जवाफदेहिता र संस्थागत अनुशासनलाई सुदृढ गरिनेछ।
७. स्रोत व्यवस्थापन र दिगोपनामा जोड दिने
पुस्तकालयको आर्थिक सुदृढीकरणका लागि विभिन्न निकायसँग साझेदारी विस्तार गर्दै दीर्घकालीन कोष निर्माण र आयआर्जनका सम्भावित कार्यक्रमहरू अघि बढाइनेछ।
८. समावेशी र सबैका लागि खुला पुस्तकालय निर्माण गर्ने
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको पहुँच सुनिश्चित गर्दै पुस्तकालयलाई सबै समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्नेछौं।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्