Kohalpur Today Header Ads

कृषि भ्रमणमा जाँदा अन्य जिल्लाको जुलुसमा सहभागिता




मैले कागज गरेर प्रहरी हिरासतबाट बाहिर त निस्किए तर मलाई कतिपय ठाउँबाट आन्दोलनकारीहरुले अब गाउँ गाउँ गएर आन्दोलनलाई तिब्रता दिनुपर्छ भन्ने सन्देश आउन लाग्यो । गणेश, सुभाष र सुनिललाई के सन्देश आयो मलाई थाहा हुने कुरा भयन । तर मलाई तारन्तार आई रह्यो । प्रहरी प्रशासनको नजर म तिर परेकै थियो । कागज गरेर निस्किएको पनि परेँ । फेरी देखिने गरी आन्दोलनमा लाग्ने हो भने त यसपाली सिध्याउँछन् भन्ने लाग्यो । घर मै म चुपचाप बसीरहेँ । मेरो एउटा बिचार के हो भने बिनसित्ती ज्यानलाई कुनै पनि हालतमा जोखिममा पार्नु हुन्न भन्ने छ । कथंककदाचित ज्यान नै दाउँमा पर्ने अवस्थामा भने ज्यान गए जाओस छाड्ने पनि होईन भन्ने हो । यसै सोचाईले २०४८ सालको निर्वाचनमा धेरै ज्यानको जोखिम पनि मोल लिएकै हो, यसलाई पछीको श्रृङ्खलामा लेख्ने नै छु ।

अब यता मेरो पिता जी र तत्कालिन नेपाली काँग्रेसका जिल्ला सभापित स्व. शुरेश राज शर्मा जी लाई मेरो चिन्ता परेको हो भन्ने लाग्छ । मेरो पिता जी सँधै वहाँको मा गएर मलाई कुनै तरहले बर्दिया जिल्लामा आन्दोलनमा नलाग्ने वातावरण बनाउन भन्न जानुहुँदो रहेछ । मेरो मनले फेरी आन्दोलनमा देखियर नै लाग्ने ईच्छाले तिब्रता पनि पाईरहेको थियो । उता शुरेशराज शर्मा जी र मेरो हजुर बुवा रामऔतार थारुको अगाध मायाको सम्बन्ध पनि थियो । मेरो हजुर बुवा वहाँको भैसी चराउने काम गर्नु हुन्थ्यो । शुरेश राज शर्मा जीको घरमा मलाई अझै पनि याद भए सम्म ६ सात वटा लैनो भैंसी हुन्थे । त्यो सबै हेर्ने जिम्मा मेरो हजुर बुवाले पाउनु भएको थियो । मैले पनि वहाँलाई हजुरबुवा नै भन्थे र मेरो पिता जी ले काका । त्यसैले पनि मेरो हजुरबुवाको लागि भए पनि र मलाई नाती जस्तै मानेर होला वहाँले मलाई कुनै जुक्ति नकाल्नु भयो “साँप पनि नभाचियोस , लट्टी पनि नटुटोस ” भन्ने । यहाँ एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने शुरेश राज जीलाई पञ्चहरु र तत्कालिन प्रशासकहरुले पनि निकै सम्मानका साथ हेर्ने गर्थिए । शायद वहाँको २००७ सालमा नेपालमा राणा शासन बिरुद्धको क्रान्तिमा सक्रिय भुमिका भएर होला । जुन क्रान्तीले नेपालमा राजाको वास्तबिक शक्ति फिर्ता ल्याउन सफल भएको थियो ।

वहाँले प्रशासनमा मेरो लागि भन्नु भएको रहेछ बासुलाई बर्दियाबाट बाहिर कुनै कार्यक्रममा लैजान । त्यही बेला पञ्चहरुले आन्दोलनमा लाग्नेहरुलाई निष्क्रिय बनाउन बिभिन्न कार्यक्रमहरु ल्याएका थिए जसमा कृषि भ्रमण पनि एक थियो । अलि पञ्चायत बिराधीहरुलाई प्राथमिकताका साथ लैजाने र पञ्चायत समर्थक परीवार बाट पनि लिएर जाने । पञ्चायत समर्थकहरुको परीवारलाई पञ्चायत ब्यवस्था प्रति निष्ठा प्रगाध गर्नु थियो भने प्रजातन्त्र प्रेमीहरुलाई आन्दोलनबाट बिमुख । यसका साथै मेरो बारेमा स्व. शुरेश राज जी ले भनेको हुनाले पनि म त्यो भ्रमणमा परेँ । त्यो भ्रमण कृषि बिकास कार्यालयको प्राङ्गणबाट बिहान शुरु भयो । त्यो फाल्गुण महिनाको अन्ततिर भएको थियो । महिला परुष सबै थिए । त्यसको नेतृत्व एक जना जेटीए ले नेतृत्व गर्नु भएको थियो । वहाँले मलाई साह्रै ख्याल गर्नुहुन्थ्यो । वहाँको नाम भने अहिले याद हुन सकेको छैन । मलाई जहाँ जता गए पनि कुनै किसिमको कडाई थिएन भ्रमणको समयमा तर तोकिएको समयमा वासस्थान वा प्रस्थान स्थलमा आईपुग्नु पर्ने । म संग एक सुको पैसा पनि थियन । खाजा खाना र सुत्न तथा अर्को गन्तब्यमा प्रस्थान गर्नको लागि म पङचुअल पनि थिएँ । यसै २०४६ फाल्गुण महिना देखि चैत्र महिनाको अन्त अन्त सम्म भएको भ्रमणमा मैले पहिलो पटक पहाडको बाटोहरु, चितवन, बिरगञ्ज, बिराटनगर, काठमाण्डौ, पोखरा, दाङ्ग, बुटवल सुर्खेतहरु अघाईञ्जेल देख्न पाएको थिएँ । बिभिन्न उन्नत जातका कुखुरा, भैसी गाई टर्की र आधुनिक तरीकाको कृषि गर्ने तरीकाहरुको बारेमा जानकारी पनि पाएको थिएँ ।

LIfe Ok

यता मेरो मनमा आन्दोलन तर्फ खिचिएकै थियो , एउटा नशा जस्तै भयर । त्यही क्रममा काठमाण्डौ पुग्दा त्यहाँ बर्दिया जिल्लाबाट उच्च शिक्षा अध्ययन गर्न गएका मैले दाजु भनेर सम्बोधन गर्ने राजन कुमार पोखरेल (वहाँ नेपाल उद्दयन प्राधिकरणको निर्देशक समेत हुनु भयो), शुशिल अधिकारी, अशोक श्रेष्ठहरुसंग काठमाण्डौमा भेट हुने मौका जुर्यो । काठमाण्डौमा त वहाँहरु पनि दैनिक जस्तो पञ्चायत बिरोधि जुलुशहरुमा सहभागी हुनुहुँदो रहेछ । कुन दिन काहाँबाट जुलुश निस्किदै छ भन्ने सबै वहाँहरुलाई थाहा हुने र ठीक समयमा पैदल नै त्यस ठाउँसम्म पुग्ने गर्नुहुन्थ्यो । शायद अध्ययन गर्ने बिद्यार्थि र घर बाट खटायर पठाएको पैसाले काठमाण्डौको बसाई तथा फि आदि पुर्याउनु पर्ने भएकोले पनि हो । सँधै पैदल नै हिँड्ने । आजभोलीका क्रान्तीकारीहरुलाई त मोटरसाईकलको पेट्रोल र साँझपख वहाँहरुको लागि पेट्रोल नभई हुँदैन (सबै यस्तै हुन् भन्न खोजेको पनि होईन) । तर नेताहरुले बानी बिगारेका छन् । ईमान्दारलाई पञ्छाउने र कुटील चालवाजहरुलाई प्राथमिकता दिने भएर होला । जे होस, राजन दाईले मलाई म काठमाण्डौमा हुँदा सम्म सँधै भक्तपुरको पञ्चायत बिराधी आन्दोलनमा सहभागी गराउनु भयो । भक्तपुरमा निस्कने जुलुशमा त मानव सागर नै खनिने । एउटा छेउबाट अर्को छेउ त के कति लामो जुलुश छ भन्ने ठम्याउनै नसकिने । त्यो जुलुशमा आउन नसक्नेहरुले घरको छतबाट पानी छर्केर आन्दोलनकारीहरुलाई शितलता प्रदान गर्नुहुन्थ्यो । आहाः कति आत्मियता थियो त्यहाँ । प्रहरीले खेद्यो भने जसले पनि घर भित्र आश्रय दिने । प्रहरीहरु त उल्लु न बिल्लु हुने । त्यस्तै भयानक आन्दोलन कै कारणले होला स्व. श्री ५ बिरेन्द्रले चैत्र २६, २०४६ मा आन्दोलनकारीहरुसंग सम्झौता गरेको । वहाँ पनि लोकतन्त्र प्रति त लिबरल नै हुनुहुन्थ्यो । यहाँबाट मलाई त फर्किन नै मन नलाग्ने । तर मातापितालाई अप्ठेरो पर्छ भनेर फर्किएँ । र गन्तब्य पोखरा, दाङ्ग हुँदै सुर्खेत सम्म पुगे । यसपछी म सुर्खेतमा पनि आन्दोलनमा सहभागी भएँ तर बटुवाको रुपमा ।

सुर्खेतमा पैसा लिएर भिडियो देखाउने रहेछन् । त्यहाँ कुनै फिल्म हल थिएन । मानिसहरु त कोच्चि कोच्चि हेर्न आउने । २२ तेइस इञ्चको टी.भी. स्क्रिनमा देखाईदो रहेछ । म पनि त्यतीबेला सायद १० रुपैयाँ तिरेर हेर्न गएँ त्यो भिडियो हलमा । भिड निकै थियो । मानिसहरु बस्ने ठाउँ नभएर उभिएर हेर्ने भए । म सबै भन्दा पछाडी भएको बेञ्चमा बसेर हेरिरहेको थिँए । मेरो पछाडी दश पन्ध्र जना उटुसमुटुस गर्दै उभिएर हेर्दै थिए । तिनैहरुमा एक जना छात्रा बिद्यालयको युनिफर्ममा उभिएकी थिईन ठीक मेरो पछाडी । मैले आफ्नो पर्स पाइन्टको पछाडीको गोजीमा राखेको थिएँ । उनी लगभग आधा घण्टा मेरो पछाडी उभिएर हराईन । मैले आफ्नो पर्स छाम्दा त गोजी रित्तो पाएँ । म अलि आत्तिएँ , भ्रमणको लागि तत्कालिन कृषि बिकास कार्यालय ले दिएको एडभान्स रकम सबै सखाप । अब के खाने कहाँ बस्ने भयो । एक त पहिलो पटक आएको ठाउँ जहाँ कसैलाई नचिन्ने । अब अप्ठेरो पर्यो बासको लागि । हिम्मत गरेर एउटा फुस्को छाना भएको होटल थियो त्यसैमा गएँ र बितेको कुरा सबै भने । उनी सह्रै ठुलो मन भएका मानिस रहेछन् । मलाई ढुक्क भएर बस्न र घर फर्किएर पैसा पठाए हुने भने पछी मेरो आत्मबल बढ्यो । मलाई के लाग्छ भने आजभोलीका युवाहरु अलि बढी स्वार्थि र स्वाभिमानी पनि भएर गएका छन् । आफ्नो समस्या कसैलाई नभन्ने र भित्र भित्रै कुण्ठित भईरहने । जसले उनीहरुलाई बिभिन्न समस्यामा पार्ने वातावरण श्रृजना गर्दछ । त्यसैले कुनै समस्या भए तुरुन्त साथिभाई आमाबुवा वा जो कसैलाई पनि भन्न सक्नु पर्छ । एक न एक जना सहयोगी हात पाउन सकिन्छ । क्रमशः

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार