नेपाली काँग्रेसको १५औं महाधिवेशनको चुनावी सरगर्मी देशभरसँगै कोहलपुरसम्म निकै बढेको छ । यसैक्रममा नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिको नेतृत्वका लागि वर्तमान सभापति विरेन्द्र कुमार शाहले पुनः उम्मेदवारी दिनुभएको छ । शाहको अघिल्लो कार्यकालमा कोहलपुरमा नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा ऐतिहासिक जित हासिल गर्नुका साथै अन्य स्थानीय संघसंस्था र सहकारीहरूमा समेत पार्टीको बलियो उपस्थिति स्थापित भएको छ ।
पार्टी विधान अनुसार पुनः सभापतिमा उम्मेदवारी दिनुभएका शाहसँग कोहलपुर टुडेले पार्टीको निर्वाचन, संगठन सुदृढीकरण, पार्टी एकता, काँग्रेस–जनता सम्बन्ध र कोहलपुरको समग्र विकासमा पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेर गरेको विस्तृत कुराकानीः
१. यहाँलाई स्वागत छ ।
– धन्यवाद, कोहलपुर टुडे परिवारलाई ।
२. नेपाली काँग्रेसको १५औं महाधिवेशन चलिरहेको छ, तपाईंले पुनः नेपाली काँग्रेस कोहलपुर नगर सभापतिमा उम्मेदवारी दिनुभएको छ । तपाईंको उम्मेदवारी किन र के का लागि ?
– मेरो उम्मेदवारी मुख्यतः अधुरा कामहरू पूरा गर्न र नेपाली काँग्रेस कोहलपुरलाई अझै उचाइमा पुर्याउंच्का लागि हो । गत कार्यकालमा हामीले कोहलपुरमा काँग्रेसलाई एउटा बलियो र विजयी शक्तिका रूपमा उभ्याउन सफल भयौं । स्थानीय तहको निर्वाचनमा काँग्रेसले हासिल गरेको ऐतिहासिक जित यसकै परिणाम हो । तर, संगठन निर्माण एउटा निरन्तर प्रक्रिया हो । हामीले सुरु गरेका सांगठनिक सुधार, नीतिगत स्पष्टता र स्थानीय विकासमा पार्टीको भूमिकालाई थप परिपक्व बनाउन मेरो उम्मेदवारी हो । म पार्टीका अग्रजहरूको सम्मान र युवाहरूको ऊर्जालाई सँगै लिएर “सवल र संगठित कोहलपुर काँग्रेस” बनाउने संकल्पका साथ मैदानमा छु ।
३. अघिल्लो कार्यकाल सफल रह्यो भन्नुभयो, आगामी कार्यकालमा संगठनलाई अगाडि बढाउने नयाँ योजना र रणनीतिहरू के–के छन् ?
– आगामी कार्यकालमा हाम्रो मुख्य ध्यान “गुटमुक्त र प्रविधिमैत्री संगठन”मा हुनेछ । हामी प्रत्येक वडा र टोल तहसम्म पार्टीका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछौं, ताकि हरेक कार्यकर्ता काँग्रेसको नीति र सिद्धान्तप्रति स्पष्ट होस् । दोस्रो, युवाहरूलाई पार्टीको मुख्य राजनीतिक धारमा आकर्षित गर्न “युवा स्वरोजगार र नेतृत्व विकास” का विशेष कार्यक्रम ल्याउनेछौं । तेस्रो, पार्टीको आन्तरिक व्यवस्थापनलाई डिजिटल प्रविधिमा ढालेर अभिलेखीकरणलाई पारदर्शी बनाइनेछ । चुनाव जित्नु मात्र ठूलो कुरा होइन, चुनावपछि पनि जनता र कार्यकर्तासँगको संवादलाई जीवन्त राख्ने हाम्रो मुख्य रणनीति हुनेछ
४. काँग्रेसभित्र सधैं आन्तरिक गुटबन्दी र असन्तुष्टिको कुरा बाहिर आउँछ । कोहलपुर काँग्रेसमा पूर्ण एकता कायम गर्न तपाईं कसरी काम गर्नुहुन्छ ?
– आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर गहना हो, यसलाई गुटबन्दीकै रूपमा हेर्नुहुँदैन । महाधिवेशन र निर्वाचनका बेला विचार र नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, चुनाव सकिएकै भोलिपल्टदेखि हामी सबै एउटै रूख चिह्नमुनिका काँग्रेस हौं भन्ने भावना जागृत गराउनु मेरो मुख्य जिम्मेवारी हुनेछ । म कसैलाई पनि पाखा लगाउने पक्षमा छैन । असन्तुष्ट रहेका साथीहरूको भावना र क्षमतालाई उचित कदर गर्दै पार्टीका महत्वपूर्ण जिम्मेवारीहरूमा समेटेर लैजानेछु । कोहलपुर काँग्रेसमा कुनै पनि “भागबन्डा” होइन, “योगदान र क्षमता”को आधारमा न्यायोचित मूल्यांकन हुने वातावरण म सिर्जना गर्नेछु ।
५. पछिल्लो समय जनतामा राजनीतिक दलहरूप्रति केही वितृष्णा देखिएको छ । काँग्रेस र कोहलपुरका जनताबीचको सम्बन्धलाई थप प्रगाढ र विश्वासिलो बनाउन तपाईंको भूमिका के रहन्छ ?
–यो निकै गम्भीर र मननयोग्य प्रश्न हो । जनताको गुनासो नेताहरू चुनावका बेला मात्र आउँछन् भन्ने छ । हामी यसलाई चिर्न चाहन्छौं । अब काँग्रेस जनताको सुख–दुःखको साथी बन्नुपर्छ । यसका लागि हामी कोहलपुरका हरेक वडामा “जनतासँग काँग्रेस” अभियान सञ्चालन गर्नेछौं । जनताको जीवनमा काँग्रेसको बिचार जोड््छौं । जनताका सानाभन्दा साना समस्या जस्तैः कृषि मलको अभाव, सडक बत्ती, खानेपानी, शिक्षा र स्वास्थ्यका समस्याहरू समाधान गर्न हाम्रो पार्टीले स्थानीय सरकार र सरोकारवाला निकायसँग पुलको काम गरिरहेकाछ र भविष्यमा पनि गर्नेछ ।
६. तपाईं सभापति भएपछि कोहलपुर स्थानीय तह र अन्य संघसंस्थामा काँग्रेसले ठूलो सफलता पायो । अब कोहलपुरको समृद्धि र समग्र विकासमा पार्टीले कसरी भूमिका खेल्छ ?
–हो, कोहलपुरका जनताले हामीलाई विश्वास गरेर स्थानीय सरकारको नेतृत्व सुम्पनुभएको छ । यसका लागि म सम्पूर्ण नगरवासीप्रति आभारी छु । पार्टीले हालसम्म सरकारलाई सही दिशा निर्देश गर्ने र जनताप्रति उत्तरदायी बनाउने काम गरिरहेको । कोहलपुरलाई पश्चिम नेपालकै एउटा “आर्थिक र शैक्षिक हब” का रूपमा विकास गर्ने हाम्रो साझा सपनाको आधारस्तम्भ तयार गरेकाछौं र त्यसलाई तिरन्तरता दिइने५ । हामी स्थानीय सरकारमार्फत कोहलपुरको अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्न जोड दिएका छौं बाँकी रहेका काम पनि स्थानीय सरकारसकाँग् मिलेर नै गर्नेछौं । शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, नगरका मुख्य तथा ग्रामीण सडकहरूको स्तरोन्नति, र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने नीति बनाउन पार्टीले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । काँग्रेस सत्तामा हुँदा होस् या बाहिर, कोहलपुरको हित र समृद्धिका लागि सधैं अग्रपंक्तिमा उभिनेछ ।
७.समाजमा बढ्दो सामाजिक विकृति र युवा पलायन देशकै ठूलो चुनौती बनेको छ । यसलाई रोक्न राजनीतिक दलको तर्फबाट के गर्न सकिन्छ ?
– युवा पलायन राष्ट्रिय समस्या हो, तर यसको समाधान स्थानीय स्तरबाटै खोज्न सकिन्छ । कोहलपुरमा रहेका उद्योग, व्यवसाय र कृषि क्षेत्रलाई आधुनिकिकरण गरेर युवाहरूलाई उद्यमशीलतामा जोड्नुपर्छ र त्यसका लागि केहि कामहरु भईरहेका छैन् र केहि काम पुरा गर्न बाँकी छन् । सामाजिक विकृति, लागुऔषध दुव्र्यसनी जस्ता समस्या विरुद्ध काँग्रेसले टोल–टोलमा सचेतना अभियान चलाउने संकल्प लिएकोछ । राजनीतिक दल केवल सत्ता प्राप्तिको माध्यम मात्र होइन, यो सामाजिक रूपान्तरणको संवाहक पनि हो। त्यसैले हामी कोहलपुरलाई एउटा सभ्य, सुरक्षित र समुन्नत समाज बनाउन सधैं क्रियाशील रहनेछौं ।
८. अन्तमा, १५ औं महाधिवेशनका मतदाता, प्रतिनिधि र आम कोहलपुरवासीलाई के भन्न चाहनुहुन्छ ?
– म सम्पूर्ण आदरणीय पार्टी प्रतिनिधि एवं मतदाता साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भने— हिजोको कठिन परिस्थितिमा संगठनलाई हाक्दै स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराएको अनुभव र नतिजा तपाईहरूका सामु छ । मैले कुराभन्दा काममा विश्वास गरेर संगठनलाई बलियो बनाएको छु । अधुरा सांगठनिक कार्यहरू पूरा गर्न र काँग्रेसलाई कोहलपुरको पहिलो र जनप्रिय पार्टी बनाइराख्न म र मेरो नेतृत्वको टिमलाई पुनः अमूल्य मतदान गरी विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । आगामी दिनमा हामी सबै मिलेर कोहलपुरको विकास र काँग्रेसको गौरवलाई अझ उच्च बनाउनेछौं । जय नेपाल !
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्