Kohalpur Today Header Ads

समर्थनको समीकरणले बदलियो बैजनाथ कांग्रेस, फेरि सभापतिमा केसीको ‘कमब्याक’ !




काेहलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैजनाथ गाउँपालिकाको नेतृत्वमा देबबहादुर केसीले फेरि बाजी मारेका छन। उनले निकटतम प्रतिद्वन्द्वी भूमिसरा रानालाई ५२ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदमा सहमति जुट्न नसकेपछि केसी र रानाबीच निर्वाचन भएको थियो। निर्वाचनअघि सभापतिका लागि विभिन्न नेताहरूको नाम चर्चामा आए पनि अन्तिम चरणमा केसी र रानाबीच प्रतिस्पर्धा भएको थियो।

LIfe Ok

यसपटक केसीका लागि नेतृत्वमा फर्किन सहज अवस्था नरहेको कांग्रेसभित्र चर्चा थियो। तर सभापतिका दाबेदार केशर खड्का र गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले केसीलाई समर्थन गरेपछि चुनावी समीकरण एकाएक बदलिएको थियो।

त्यसैगरी, विभिन्न वडा सभापतिसहितको टिम केसीको पक्षमा खुलेर लागेपछि उनको पक्षमा संगठनात्मक आधार थप बलियो बनेको थियो। यही समीकरण निर्वाचन परिणाममा समेत प्रतिबिम्बित भएको कांग्रेस नेताहरूको बुझाइ छ।

केसी यसअघि पनि बैजनाथ गाउँपालिका सभापतिको जिम्मेवारीमा थिए । पहिलो कार्यकालका लागि भएको निर्वाचनमा उनले केशर खड्कालाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए । यसपटक भने उनले दोस्रो कार्यकालका लागि पुनः नेतृत्वमा ‘कमब्याक’ गरे ।

उता, भूमिसरा रानाले पनि निर्वाचनमा बलियो चुनौती प्रस्तुत गरे । राना यसअघि बैजनाथ गाउँपालिका–३ को वडा सभापतिको जिम्मेवारी सम्हालेकी थिइन ।  विभिन्न वडा तहमा केसीको पक्षमा बलियो टिम देखिए पनि रानाले प्राप्त गरेको मतले उनको राजनीतिक प्रभाव र संगठनभित्रको आधारलाई समेत देखाएको कांग्रेसभित्र चर्चा छ।

निर्वाचनमा फरक समूह र पक्षबाट प्रतिस्पर्धा भए पनि अब सबै कांग्रेसजनलाई एकताबद्ध बनाएर संगठन विस्तारमा केन्द्रित हुने केसीले बताएका छन् । बैजनाथमा नेपाली कांग्रेसलाई अझ बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रबार