ओलीको गृहनगर दमकको प्रमुखमा राप्रपाका राम थापा विजयी

झापा  ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा मेयरमा निर्वाचित भएका छन् ।
दमकमा एमालेलाई पराजित गर्नका लागि ६ दलीय गठबन्धन बनेको थियो ।

एमालेविरूद्ध राप्रपा, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए ।

तर, एमालेले नगरपालिकाको १० वटा वडामध्ये ७ वटा वडामा एमालेले जितेको छ । कांग्रेसले २ र राप्रपाले एउटा मात्रै वडा जितेको छ ।

निर्वाचन आयोगले दमक नगरपालिकाको १० वटै वडाको अन्तिम मत परिणाम घोषणा गरेको छ ।

निर्वाचन परिणामअनुसार, राप्रपाका उम्मेदवार राम थापाले ५५९ मतले एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार थापाले १७ हजार ५ सय २५ मत पाउँदा पौडेलले १६ हजार ९ सय ६६ मत पाएकी छिन् ।

यस्तै, उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी रेगिना भट्टराई विजयी भएकी छिन् । उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५ सय ७४ मत ल्याएका छन् ।