सुकुम्बासी बस्ती सम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जग्गामा लागू नहुने




काेहलपुर । कोहलपुर नगरपालिकाले वडा नं. ११ स्थित नगर विकास समितिको अतिक्रमित जग्गा खाली गराउन सम्बन्धित पक्षलाई पुनः आग्रह गरेको छ । नगरपालिकाले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा तत्काल खाली गर्न अनुरोध गरेको हो ।

नगरपालिकाका अनुसार यसअघि जारी गरिएको सूचनापछि धेरै परिवारले स्वःस्फूर्त रूपमा घर–टहरा खाली गरी सहयोग गरेका छन् । सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै नगरपालिकाले वास्तविक भूमिहीन सुकुम्बासीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

सूचनामा करिब ६० घरधुरी नगरपालिकाको सम्पर्कमा आइसकेको उल्लेख गरिएको छ । साथै सर्वोच्च अदालतबाट जारी भएको सुकुम्बासी बस्ती सम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जग्गामा लागू नहुने स्पष्ट पारिएको छ । त्यसैले बाँकी रहेका घर–टहरा पनि तत्काल खाली गर्न नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाले खाली भएका संरचनाको व्यवस्थापन कार्य छिट्टै सुरु गरिने जानकारी दिएको छ । साथै वास्तविक सुकुम्बासीको नाममा अनाधिकृत गतिविधि गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अघि बढाइने चेतावनी समेत दिएको छ ।

यो सूचना प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीद्वारा जारी गरिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख २६ गते शनिबार