मध्यपश्चिम विश्वविद्यालयको सत्रान्त परिक्षा २५ गतेदेखि सुरु

कोहलपुर ।

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयले शुक्रबारदेखि सत्रान्त परिक्षा सञ्चालन गर्न लागेको हो । स्नातकोत्तर तह तेस्रो तथा स्नातक तह तेस्रो, पाँचौ एवम् सातौं सेमेस्टरका सत्रान्त परिक्षाहरु सञ्चालन गर्न लागेको परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्द प्रसाद सुवेदीले जानकारी दिए ।

मध्यपश्चिम विश्वविद्यालयका केन्द्रीय क्याम्पस सुर्खेत लगायत १० आंगिक क्याम्पस र १ सम्बन्धन प्राप्त क्याम्पसमा मर्यादित, सौहाद्र र व्यवस्थित रूपमा परिक्षा सञ्चालन गर्न लागेको बताए । स्नातकोत्तर तथा स्नातक तहमा सेमेस्टर पद्धतिबाट पठनपाठन गर्दै आएको विश्वविद्यालयले सममै आफ्नो गतिविधि गरिरहेको छ ।

यस विश्वविद्यालयले कोभिड-१९ को पहिलो लहरमा पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गरेर अनलाइनको माध्यमबाट तथा दोस्रो लहरमा अनलाइन र अफलाईन दुबै मोडेलबाट परिक्षा सञ्चालन गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयले सत्रान्त परिक्षामा विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकलाई पर्यवेक्षकका रूपमा हरेक परिक्षा केन्द्रमा पठाउदै आएको छ । जसले गर्दा हरेक परीक्षा केन्द्रमा सु-व्यवस्थित रूपमा परिक्षा सञ्चालन हुने विश्वास लिइन्छ ।

बाँकेको कोहलपुरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा पनि शुक्रबारदेखि स्नातकोत्तर तह शिक्षा, व्यवस्थापन तथा मानविकी संकाय तेस्रो सेमेस्टरको परिक्षा सुरु भएको छ । यस अघि विश्वविद्यालयले सममै नतिजा प्रकाशित गरेको थियो । केही दिन आगाडी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा परीक्षा व्यवस्थित तथा मर्यादित रूपमा सञ्चालन गरेको पर्यवेक्षक तथा जलजला बहुमुखी क्याम्पसका उप-प्राध्यापक कोमल खड्काले बताए ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले धेरै वर्षको अनुभव तथा नियमित पठनपाठन भएको कारण बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीहरुको नतिजा राम्रो ल्याउन सकेको उनको दावी छ ।

त्यसैगरी विश्वविद्यालय स्थापनाको छोटो समय भएपनि यसले जनशक्ति उत्पादनको क्षेत्रमा निकै फड्को मारेको छ । हाल विश्वविद्यालयले दक्ष, योग्य, क्षमतावान जनशक्ति उत्पादन गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले जानकारी दिए ।