कृषिमा उच्च शिक्षा आरम्भ गर्न त्रिपक्षीय सम्झौता

सुर्खेत ।

मध्यपश्चिम विश्वविद्यालय र सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित दुई स्थानीय सरकारका बीच बुधबार त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच नयाँ संकाय कृषि तथा वन विज्ञान अन्तर्गत स्नातक तहको कार्यक्रम

(बीएस्सी एजी) सञ्चालन गर्ने ग्रेजुएट स्कूल अफ एग्रोफरेष्ट्री शुभारम्भ गर्न विश्वविद्यालय र लेकवेशी नगरपालिका तथा भेरीगंगा नगरपालिकाका बीच आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कर्णाली प्रदेशसभाका सदस्य एवं प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री सिता नेपाली, प्रदेशसभा सदस्य अमृता शाही सहित त्यस क्षेत्रका विभिन्न राजनीतिक दलका नेता एवं सरोकारवालाहरूको रोहबरमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र लेकबेशी नगर प्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्तिकुमारी छन्तेल तथा भेरीगंगा नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, उपप्रमुख रेणु आचार्यले उक्त १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो ऐतिहासिक सम्झौता पत्रका हस्ताक्षरकर्ता समेत रहनुभएका उपकुलपति प्रा. डा. सिंहले विश्वविद्यालयलाई औद्योगिकीकरण एवं उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सम्झौतामा उल्लेख भए अनुसार विश्वविद्यालयको स्वामित्वमा रहने गरी १ सय ३२ विगाहा जग्गा उपलब्ध गराइएको छ भने कार्यक्रम सञ्चालनार्थ आवश्यक भौतिक पूर्वाधार एवं शैक्षिक प्रशासनिक जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकारबाट आर्थिक स्रोत जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।