कविता : बस यात्रा करुण

अनन्त कुमार पौड्याल, 

चढनुछ गाडी तिर्नु छ भाडा सय हैन हजारमा ।
पुग्नुछ छिटो जानुछ टाढा गाउँ शहर बजारमा ।।
सामानका बोरा गाडीमा धेरै बोका छन् गनाउने ।
साँगुरा सिट गाडीमा धेरै घुँडा छन् ठोक्काउने ।।

हिँडदैन गाडी रोकेको रोकै कोच्दछ मान्छे धेर ।
सुन्दैन पीडा समयको ढिलो रोक्दछ अझै बेर ।।
खाल्डा छन् कति उकालो धेरै सडक छ भत्केको ।
मान्छे छन् उति झुण्डेका धेरै गाडी छ ढल्केको ।।

उफ्रिन्छ गाडी ठोक्किन्छ टाउको उठदछ टुटुल्को ।
नचढी हुन्न जानू छ टाढा नरक छ झझल्को ।।
थुनिन्छ भित्र झ्याल पंखा छैन गुम्सिने बाफले ।
रोकिन्छ सास धुलो र धुवाँ मोबिलको खारले ।।

रुँदाछन् बच्चा फकाउँछन् आमा लोहोरी गाएर।
बुढा छन् पाका कराउँछन् आइया मारो नि भनेर ।।
ठेल्दछ मान्छे पछाडि भन्दै अश्लिल बोलेर ।
कोच्दछ मान्छे सिट छ भन्दै हुल्दछ ठेलेर तानेर ।।

लगाउँछ ब्रेक घच्याक्क रोक्छ छ धुलो बेस्सरी ।
मर्किन्छ ढाड दुख्दछ जीऊ पुग्ने हो कसोरी ।।
हुइक्याउँछन् झ्वाट्ट दोडिन्छ वेगले साँगुरो घुम्ती छ ।
खाइदिन्छन् झोल झोकिन्छन् चालक धमिलो बत्ती छ ।।

वमिट गर्छन् गनाउने कुरा लाग्दोछ जीउभरि ।
पग्लेर बग्छन् गनाउने घिऊ फैलिन्छ भुईँभरि ।।
यस्तो छ व्यथा पहाडी यात्रा जनता बिचरा ।

उस्तै छ उता शहरको जात्रा मोटरै मोटर ।
जाम र काम मिल्दैन समय हतारै हतार ।।
सपना खेती सास्ती भो खेति गाउँ शहर विकास ।
पार्टी भए अति सोचेनन् कति दुखको निकास ।

दिनहुँ मर्छन् भिरबाट खसी गाडी भए धराप ।।
गाडी छन् थोत्रा हल्लाउने कोक्रा चालकलाई सराप ।
यस्तै हो भने नगरौ हल्ला न तडक भडक ।
गरौँ न सल्लाह सुधारौँ स्तर मोटर र सडक ।।

लगाऊ पर्खाल सडक किनारा पन्छाऊ पहरा भिर ।
बनाऊ नाली तर्काऊ भल जोगाऊ खतरा शिर।।
गर्ने हो भने सुनौ है कुरा गाउँले जनताका ।
सुधार बाटो पठाऊ मोटर सिट भाका फराक ।।

नहुन टुहुरा न हुन कोइ अनाथ बाटोका कारणले ।
नहुन विधवा न रित्तीयोस काख यात्रा कै मरणले ।।
सरर गुडने सोझा र चिल्ला पीच सडक बनाइदेऊ ।
मजबुत र सहज खुकुलो हुने बस टडक चलाइदेऊ ।।

हाल: सिराह