Kohalpur Today Header Ads

कोहलपुर घटनामा युवतीको बयान- ‘इन्जेक्सन लगाउने भन्दै भित्र लगेर गलत व्यवहार गरियो’




काेहलपुर । बारम्बार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेकी एक २२ वर्षीया युवतीले स्वास्थ्यकर्मीबाटै यौन दुर्व्यवहारको आरोप लगाएपछि उत्पन्न विवाद प्रहरीमा पुगिसकेको छ । सामाजिक सञ्जालमा भने धेरैले युवतीलाई नै आरोपित गरिरहेका छन् ।

युवतीसँगै गएकी एक महिलालाले स्वास्थ्यकर्मीलाई थर्काउँदै झापड हानेकी थिइन् । उक्त घटनाको भिडिओ सामाजक सञ्जालमा आएपछि मानिसहरु पक्ष-विपक्षमा बाँडिएका छन् । धेरैले चाहीँ युवती र महिलाले नै गलत नियतबाट स्वास्थ्यकर्मीलाई आरोप लगाएको ठोकुवा गरेका छन् ।

LIfe Ok

यो विषय प्रहरीमा पुगिसकेको हुँदा को सही र को गलत भन्ने निर्क्योल अब प्रहरी र अदालतबाटै हुनेछ । आरोपी स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । युवतीले उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी छन् । कुनै पनि महिलाको सहमतिबिना पुरुषले यौनांगमा कुनै पनि वस्तु प्रवेश गराउँदा कानूतः बलात्कार मानिन्छ ।

यसैबीच पीडित भनिएकी युवतीले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै घटनाबारे विस्तृत विवरण सुनाएकी छन् । आफूले केवल उल्टी आएको मात्रै सिकायत गरेको र ‘डाक्टर’ ले सुई लगाउनुपर्ने भनेर भित्र लगेको उनको भनाइ छ । सानो कोठाभित्र लगेर आफूलाई यौन दुर्व्यवहार गरेको आरोप उनले लगाएकी छन् ।

सहारा टीभी नामक च्यानललाई दिएको अन्तरवार्तामा युवतीले बोलेका कुराहरू उनकै शब्दमा प्रस्तुत गरिएको छः  
मलाई खाना खाएपछि ग्यास्ट्रिकले गर्दा उल्टी भइराथ्यो । दुई-तीन चोटीसम्म उल्टी भयो । उल्टी हुँदाखेरि मेरो घाँटीमा दुख्यो र अड्किएजस्तो भयो ।

एकदमै दुखेपछि मैले म्याम (आफू काम गर्ने क्याफेकी सञ्चालक) लाई भनेँ– म्याम मलाई लास्टै गाह्रो भइराछ । मलाई पैसा दिनुस्, औषधि खोज्न जान्छु । उल्टी रोक्ने औषधि मात्र लिएर एकैछिनमा आइहाल्छु ।

म्यामलाई मैले ‘थापा मेडिकल जान्छु’ भनेको पनि थिइनँ । म बस औषधि मात्रै लिएर आउँछु भनेर त्यहाँबाट निस्केको हो । अरु केही पनि भएको थिएन मलाई ।

म थापा मेडिकल पुग्दा डाक्टरमात्रै हुनुहुन्थ्यो । मलाई अहिले थाहा भयो कि उहाँ डाक्टर पनि होइन रहेछ । मैले उहाँलाई पेट दुखेको र उल्टि आएको शिकायत गरेँ । अरु केही भनेको थिइनँ । पहिला त सोध्नुभयो– ‘एक्लै आछौ कि कोसँग आछौ ?’ भनेर । मैले भनेँ– ‘एक्लै आएको छु । यतै नजिकै बस्छु म, क्याफेमा काम गर्छु ।’ अनि त्यसपछि ‘ए… गानो जान्छ कि जाँदैन ?’ भन्नुभयो ।

गइराख्थ्यो पहिला, आजभोलि चाहिँ ठिक छ, यति खासै जाँदैन । पहिला औषधि पनि धेरै खाएँ, तर ठिक भएन । अनि आजभोलि चाहिँ ठिक छ भनेँ ।

म अगाडि गएर चेकअप गर्नलाई यसरी मुख थुन्दै वाकवाकी गर्दै म त्यहाँ बसेको थिएँ । मलाई उल्टी रोक्ने औषधि दिनुस् भन्दाखेरि ‘औषधिले अहिले हुँदैन, इन्जेक्सन लगाइदिन्छु’ भन्नुभयो । मैले हुन्छ भनेँ ।

उहाँले भन्नुभयो– ‘दुइटा इन्जेक्सन लाग्छ।’

मैले भनेँ– ‘एउटा उल्टीको लागि दुइटा इन्जेक्सन ? ठिक छ लगाइदिनु । मलाई ढिलो पनि भइराछ । म वापस जबमा पनि जाने हो भनेर भनेँ ।

‘ल ल हुन्छ’ भन्नुभयो । अनि म उठेँ । उठेर यता बस्ने सिटहरु थियो, कुर्सीहरु थियो, त्यहाँ गएर बसेँ म एकछिन ।

अनि ‘छिटो इन्जेक्सन लगाउन आऊ’ भनेर बोलाउनुभयो । भित्रतिर लैजानुभयो । भित्र प्यासेज थियो । प्यासेजको साइडमा रुम थियी । त्यो रुमभित्रको पनि सानो रुममा लगेर राख्नुभयो । भित्रबाट चुकुल लगाउनुभयो । रुमभित्र दुई जनामात्रै थियौँ ।

मलाई लाग्यो कुनै त्यस्तै प्राइभेट पार्टमा (ब्याक साइडमा) इन्जेक्सन लाउन आँट्नु भएको होला । त्यसैले म हल्का फर्किंन खोजेँ । तर उहाँले ‘सिधा होऊ’ भन्नुभयो । ‘सीधा होऊ, अनि खुट्टा तल राख, सीधा गर, हातखुट्टा सीधा राख’ भनेर यसरी मैले सीधा राखेँ ।

त्यसपछि त मेरो टी-सर्ट माथि उठाउनुभयो । मैले ह्वाइट कलरको टी-सर्ट लगाएको थिएँ । टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो । अनि टच गर्नुभयो । मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो । ‘के गरेको ?’ भनेर हल्का पछाडि सरेँ म । तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो ।

भित्र हात हाल्दाखेरि मैले ‘दुख्यो’ भनेर भनेँ । ‘के गरेको ? दुख्यो मलाई यसरी’ भनेर भनेँ मैले । हल्का झर्किएँ पनि म । उहाँले त्यसपछि ‘छैन केही गानो सानो’ भनेर मजाकीया तरिकाले हाँस्नुभयो । म रिसाएँ । म रिसाउँदाखेरि पनि हाँस्नुभयो ।

त्यसपछि अप्ठ्यारो लागेर आफैंले छिटछिटो चेन बन्द गरेँ । बटन बन्द गर्दाखेरि उहाँले माथि फेरि टच गर्नुभयो । लगभग चार-पाँच चोटी त्यस्तो भयो के मसँग ।

उहाँले मलाई टच गर्न पर्मिसन माग्नुभएको थिएन । उहाँको नियत अरु नै थियो । हाउभाउबाट थाहा भइहाल्छ नि त । उसको फेस एक्सप्रेसनबाट, उसको चालढालदेखि थाहा भइहाल्छ कुन तरिकाले गरिराको छ भनेर ।

मलाई अप्ठ्यारो लागेर उठिहालेँ । चुकुल खोलेर बाहिर निस्किएँ । बाहिर बसेँ एकछिन । म के गरौँ, डराएँ म एकछिन । त्यसपछि उहाँले भन्नुभयो– ‘ए भाइ इन्जेक्सन लगाइदे ।’ उहाँ आफूले सुई लगाइदिनुभएन । पहिला आफूले नै इन्जेक्सन लाउँछु भनेर बोलाउनुभयो तर आफूले नलगाएर अर्कोलाई अह्राउनुभयो । इन्जेक्सनको लागि म डराएँ । मलाई दुख्छ भनेर भनेँ । साइडमा एउटा दादा हुनुहुन्थ्यो, ‘दादा प्लिज मेरो हात छुनु न, मलाई इन्जेक्सन एकदम डर लाग्छ’ भन्दाखेरि मैले उहाँ दादाको हात छोपेर, आँखा बन्द गरेर यसरी हातमा टाउको राखेर यसरी उहाँले चाहिँ मलाई इन्जेक्सन (एउटा… दुईटा इन्जेक्सन) लगाउनुभयो।

अब औषधि प्याक गर्दिन लाग्नुभयो उहाँले । मैले भनेँ, ‘मसँग अलि पैसा कम छ, औषधि अलि कम गर्दिनु भनेँ । नत्र अर्को सस्तोवाला औषधि हाल्दिनु’ भनेर भनेँ ।

त्यसपछि मलाई के भयो, कसलाई भनम् कि नभनम् भनेर म छटपटिएँ त्यहाँ ।

मैले त्यहाँ तत्काल प्रतिवाद गर्न सकिनँ किनभने म एक्लै गएको थिएँ । त्यहाँ एकजना नर्स दिदी बस्नुभएको थियो । म दिदीको तल बसेँ । भुइँमा बसेर ‘दिदी’ भनेर बोलाएँ । बोलाउँदाखेरि ‘हजुर नानु’ भन्नुभयो । ट्याग देखेँ हस्पिटलको । हस्पिटलको ट्याग देखिसकेपछि मैले ड्रेस हेरेँ राम्रोसँग । उहाँ त हस्पिटलकै हुनुहुँदो रैछ । अगर मैले उहाँलाई केही भनेँ भने उहाँले त हस्पिटलकै सपोर्ट गर्ने हो । यस्तो सोचेर म ब्याक भइहालेँ त्यहाँदेखि । ‘म यहाँ भन्दिन, म जे भन्छु म्यामलाई भन्छु’ भनेर हिडेँ ।

त्यसपछि मैले औषधि छोपेँ, पैसा दिएँ । रु. १०५० (एक हजार पचास) को बिल बनेको थियो । मैले औषधि लिएँ र सरासर म्याम भएको ठाउँमा गएँ । म्यामलाई बोलाएँ । अनि म रुन थालिहालेँ । म रुँदै रुँदै गएर म्यामलाई सबै कुरा सुनाएँ । अनि म्यामले मलाई त्यहाँ लिएर जानुभयो । त्‍यसपछि वादविवाद भयो । उहाँले माफी माग्नुभयो भने ठीक छ म माफी दिन्छु, अगाडि कुरा बढाउँदिन’ भनेको थिएँ । तर त्यस्तो भएन ।

(मिडियामा) मेरो फेस देखियोस्, मलाई केही पनि चिन्ता छैन । म त देखाउनै चाहन्छु । किनभने मैले झूट बोलेको छैन । केही बिराएको छैद्द । मैले केही गलत गरेको भए पो डराउने । सबै सच-सच बोलेको छू । मेरो गल्ती छैन भनेपछि म किन डराम् ?

हामीलाई पनि त थाहा छ ब्याड टच र गुड टच । म नाबालिक होइन, २२ वर्षको बालिग हो । मलाई सबकुछ थाहा हुन्छ कि कसले मलाई गुड टच गरेछ, कसले मलाई ब्याड टच गर्यो । त्यो त मलाई पनि फिल हुन्छ नि अगाडिको मान्छे हेर्दाखेरि । कत्तिको नजिक छ, कत्तिको टाढा छ, कसरी छोइराछ, कति चोटी बारम्बार गरिराछ । त्यो मलाई पनि त थाहा हुन्छ, बुझ्छु नि मैले । म बच्चा त होइन नि कसैले भड्काएर भड्किने । यस्तो भन् त्यस्तो भन् भनेर सिकाएर त भन्दिनँ नि । म बुझ्ने हो, उमेर भएको मान्छे हो, दुनियाँदारी देखेको मान्छे हो, पढेलेखेको मान्छे हो मलाई पनि त थाहा छ ।

अहिले मेरो फ्यामिलीमा पनि यति धेरै प्रेसर आइसक्यो कि… मेरो ममी-बाबा पनि पछाडि हट्न तयार भइसक्नु भाथ्यो प्रेसरले गर्दा, डराएर । म अगाडि बढिरहेको छु, पछाडि हट्दिन भन्दाखेरि मेरो ममी र बाबाले भन्नुभयो कि पछाडि ह्ट तँ । नगर् नानी भोलि गएर हामीलाई पनि, तँलाई पनि हाम्रो फ्यामिलीलाई बाहिर निस्किन गाह्रो हुन्छ ।, म पनि डराएँ पहिला । पछि हटम कि भन्ने लाग्यो । तर हिम्मत बटुलेर ब्याक नहुने निर्णय गरेँ ।

म पैसाको प्रलोभनमा पर्नेवाला छैन । पैसा बरु उहाँलाई चाहिन्छ भने म उल्टा दिन तयार छु । उहाँलाई कति चाहिन्छ म दिन तयार छु, मलाई पैसा चाहिँदैन । त्यस्तो पैसा चाहिएको कुरा हुँदै होइन । त्यो पैसा दिएर तिनीहरुबाट मेरो इज्जत फिर्ता आउँछ ? मेरो जो बेइज्जत हुन्छ, त्यो फिर्ता आउँछ ? पैसाको कुरै नगरे हुन्छ के । मलाई चाहिँदा पनि चाहिएन । मलाई आफ्नो इज्जत प्यारो छ, पैसा केही छैन । मलाई खान लाउन पुगेकै छ, अनि म बाँच्न सक्छु । त्यतिमा मलाई पुग्यो ।

एउटा कुरा के भन्दा धेरैले मलाई ‘सेतो पानी बग्छ भनेपछि टच गरिहाल्छ नि’ भनेर भन्नुभएको छ । तर मैले त्यो भनेकै छैन । मैले एउटा कुराको उपचार गर्न गएको छु, उसैले अर्को कुरा किन ल्यायो ? मैले उल्टी भइराछ भनेर त्यसको औषधि दिनु भनेर मागेको छु भनेपछि अर्को कुरा निकालेर झुट किन बोल्ने के ? जब गल्ती गरेको छ भनेपछि एक्सेप्ट पनि गरोस् न त । गल्ति एक्सेप्ट गर्नुस्, म माफीदिन तयार छू ।

म बाहिर मुख देखाएर हिँड्नसमेत पनि भएको छैन । यस्तो बनाइसक्यो । के गरी निस्किम् म, कसरी निस्किम्… उताबाट हेर्छ, त्यो त त्यही केटी हो भनेर । मलाई पनि त नराम्रो लाग्छ । एकदमै गाह्रो भाछ । मेरो भन्दा अगाडिको दिदीहरुले आवाज उठाउनुभएन त्यही भएर मसँग आज यस्तो भयो । आज मैले आवाज उठाएँ भने भोलि गएर अर्को दिदीबहिनीसँग यस्तो हुँदैन के । त्यो आशले मैले गरेको हो ।

-Nepalpress.com

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार